सगरमाथा क्षेत्रमा नेपाली सेनाद्वारा निर्मित सार्वजनिक शौचालयको उद्घाटन

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – नेपाली सेनाले सगरमाथा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मध्येनजर गर्दै तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामू गाउँपालिका–४ फुङ्गि थेङ्गामा चार कोठाको दुई सिटे सौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ ।

जनहित कार्यका लागि विनियोजित दश लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माण सम्पन्न गरिएको दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नबराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शौचालय गत मङ्सिर १७ गतेबाट शुरु गरी माघ १८ गते निर्माण सम्पन्न गरेको हो, पूर्वी पृतनाका पृतनापति उपरथी आश बहादुर तामाङको सल्लाह, सुझावमा सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणशूर गुल्मका गुल्मपति सेनानी प्रचण्ड विक्रम भारतीको पहलता तथा गुल्मका सकलदर्जाको करिव ३ महिनाको अथक प्रयासमा निर्माण भएको हो ।”

उक्त शौचालयको बुधबार नेपाली सेना पूर्वी पृतनाका पृतनापति उपरथी आश बहादुर तामाङले उद्घाटन गरी सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको खुम्बिला मध्यवर्ती क्षेत्र उपभोत्ता समितिलाई हस्तानान्तरण गर्नुभयो । उक्त उद्धघाटन कार्यक्रममा रणशूर गुल्मका गुल्मपति सेनानी प्रचण्ड विक्रम भारतीले सार्वजनिक शौचालय निर्माणको पृष्ठ भुमि र उदेश्य बारे अवगत गराउनु भएको थियो ।

उद्धघाटन समारोहमा बोल्दै सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुस्मा रानाले नेपाली सेनाले निर्माण गरेको सार्वजनिक शौचालयले सगरमाथा राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने स्वदेशी विदेशी पर्यटकहरुलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सगरमाथा राष्ट्रिय निकुञ्न विभिन्न देशका पर्यटकहरुको एक प्रमुख गन्तव्य रहदै आएको छ ।

वर्षेनी करिव ५० हजार स्वदेशी विदेशी पर्यटकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेका सगरमाथा, ल्होत्से, आमादव्लम हिमाल आरोहणका साथै सगरमाथा आधार शिविर, कालापथ्थर, गोक्यो ताल लगायत स्थानहरुमा भ्रमण गर्ने गर्दछन ।

भ्रमण गर्ने क्रममा खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका– ४ स्थित फुङ्गि थाङ्गा ईलाकामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको चेक पोष्ट हुदै पैदल यात्रा गर्ने हुँदा उक्त स्थानमा लामो समयदेखि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरेको थियो ।

सोही आवश्यकता लाई महसुस गरी नेपाली सेनाले निर्माण गरेको नवनिर्मित सार्वजनिक शौचालयले स्वदेशी विदेशी पर्यटक र स्थानिय बासीलाई सुविधा प्रदान गरी पर्यटक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार