सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो र दोश्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम आज शुक्रबार तामाखानीमा सम्पन्न गरेको हो ।
हिमाल एफ.एम.ले सहजिकरण गरेको उक्त सार्वजनिक सुनुवाइमा वडाबासी र वडाध्यक्ष तथा नगरपालिकाका विषयगत शाखाका कर्मचारी बिच प्रत्यक्ष सवाल–जवाफ भएको थियो । नागरिकले राखेका जिज्ञासा, प्रश्न र गुनासाहरुको जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रत्यक्ष रुपमा समेत जवाफ दिएका थिए ।
वडा कार्यालय तामाखानीले चालु आर्थिक वर्षमा ४१ लाख रुपैयाँ बराबरको १४ वटा वडा स्तरीय योजना, ६३ लाख बराबरको ७ वटा नगर स्तरीय, प्रदेश स्तरीय एउटा र संघ स्तरका २ वटा योजनाहरु सञ्चालन गरेको जनाएको छ ।
जसमा वडा स्तरका १४ योजना मध्ये १० वटा सम्पन्न, एउटा सम्झौता हुन बाँकी छ भने ३ वटा निर्माणाधिन रहेको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो । नगर स्तरका ७ वटा योजना मध्ये साविक ६ नम्बर वडा कार्यालयको ढल व्यवस्थापनको काम सकिएको छ भने बाँकी निर्माणको चरणमा रहेका छन् ।
यस्तै प्रदेश स्तरका सल्लेरी तामाखानी सडक स्तरोन्नतीको काम र संघ तर्फका दुई वटा योजना निर्माणको चरणमा रहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रम नगरपालिका योजना शाखा प्रमुख राम कुमार खड्काको विशिष्ट आतिथ्यतामा वडा कार्यालय तामाखानीको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका कृषि शाखा प्रमुख पासाङ गेल्जे शेर्पा, प्राविधिक पासाङ शेर्पा, वडाका जनप्रतिनिधिहरु, राजनितिक दलहरुका प्रतिनिधि, शिक्षक,, कर्मचारीहरु, सुरक्षाकर्मी, बुद्धिजीवी, स्थानीयवासी, सञ्चारकर्मीहरु गरी एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।