सोलुकी अभिनेत्री छिरिङले लिइन् राष्ट्रपतिबाट गिनिज बुकको प्रमाणपत्र

सोलुखुम्बु – सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर सोलुखुम्बुकी छिरिङ शेर्पाले राष्ट्रपतिबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को प्रमाणपत्र लिनुभएको छ । सोलुदुधकुण्ड नगरपालिका–६ छुतककी शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उक्त प्रमाणपत्र ग्रहण गर्नुभएको हो ।

छिरिङ र जगदिश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफी डान्स अन ल्याण्ड (पेयर)’ को रेकर्ड राख्नुभएको थियो । राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई समेत दिनुभयो ।

छिरिङ सन् २०२४ को स्प्रिङ (अप्रिल–मे) मा सगरमाथासमेत आरोहण गर्न लाग्नुभएको छ । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’, छिरिङले भन्नुभयो, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

 

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरेलगायतको उपस्थिति थियो ।

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनुपरेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् ।

उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उहाँले भन्नुभयो । छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहणसम्बन्धी तालिम लिनुभएको छ । उहाँ ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुनुहुन्छ । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उहाँले फिल्म ‘कार्साङ’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै हुनुहुन्छ । फिल्म ‘तिन्छेन फामा’ ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो ।

उहाँ टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुनुहुन्छ । छिरिङ हाल गोर्कणेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार