लुक्ला– जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलासहितको सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित महिला अधिकारकर्मीहरुको टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले राससलाई जानकारी दिनुभयो ।
टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरुले पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभाव लगायतका विषयमा स्थानीय तथा जनप्रतिनिधिसग अन्तरक्रिया गर्दै अघि बढ्ने अध्यक्ष कार्कीले बयाउनुभयो ।
जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो ।
जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो ।

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलालाई लिएर यही फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरकृया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराउनुभएको छ ।
उहाँले भन्नुभयो, “स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौँ ।”
यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।