कालापत्थरमा हुने जलवायु परिवर्तन सम्मेलनका टोली नाम्चे पुग्यो

सोलुखुम्बु – जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलासहितको सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको नाम्चे आइपुगेको छ ।

साथसाथै फाउन्डेसनको आयोजनामा गत बिहीबार काठमाडौबाट प्रस्थान गरेको टोली लुक्ला, फाक्दिङ हुँदै आज नाम्छे आइपुगेको हो । टोलीले जलवायु परिवर्तनका कारण हिमालमा परेको असर र त्यसले स्थानीय महिला समुदायको जनजीवनमा परेको प्रभाव बारे स्थानीयसग अन्तरक्रिया गर्दै नाम्छे आइपुगेको  साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो ।
टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरुले पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभाव लगायतका विषयमा स्थानीय तथा जनप्रतिनिधिसग अन्तरक्रिया गर्दै अघि बढ्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो ।
जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूह लुक्लाबाट कालापत्थरसम्म पदयात्रामा निस्किएका हुन  ।
साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलालाई लिएर यही फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरकृया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराउनुभएको छ ।
यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार