नाम्चे – सगरमाथा क्षेत्रमा ७४औँ विश्व चिकित्सक दिवस मनाइएको छ । नेपाल चिकित्सक सङ्घले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खुम्जुङमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।
सो अवसरमा बोल्ने अधिकांश वक्ताले चिकित्सकको पेसागत गरिमालाई ध्यान दिन सुझाव दिनुभयो । मधेस आयोगका सदस्य रेणुदेवी शाहले चिकित्सकप्रति समाजको भरोसा उच्च रहेकाले सोहीअनुसार जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मानिसको प्राण बचाउने पेसामा आबद्ध चिकित्सकलाई हरेक नागरिकले सधँै सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चिकित्सक र पत्रकारबीचको सम्बन्ध अनन्याश्रित रहेको बताउँदै दुवै समाज र नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका महासचिव डा सजिव तिवारीले चिकित्सक जनताको स्वास्थ्योपचारमा अत्यन्त संवेदनशील रहेकाले पेसागत सुरक्षा आजको अवाश्यकता रहेकोमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ एसिया प्रशान्तका कार्यकारी सदस्य बद्री सिग्देलले सञ्चारमाध्यम र स्वास्थ्यकर्मी दुवैको भूमिका अतुलनीय रहेको बताउनुभयो ।