सोलुमा पहिलो पटक मेसिन मार्फत मोतिविन्दुको अप्रेसन

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नयाँ प्रविधि(फेको) मार्फत आँखाको मोतिविन्दुको शल्यकृया(अप्रेसन) गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा सोमबार र आज मंगलबार दुई दिनमा २२ जनाको आँखा उक्त प्रविधिमार्फत शल्यकृया गरिएको हो ।

केन्द्रका प्रमुख विधान ताम्राकारका अनुसार दुई दिनमा कुल ८७ जनाको आँखाको शल्यकृया(अप्रेसन) गरिएको छ । जसमा ६० जनाको हातको माध्यमबाट निःशुल्क र २२ जनाको मेसिनको माध्यमबाट सशुल्क शल्यकृया गरिएको उहाँको भनाइ छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाण्डौँ, जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र हिमालयन क्ट्याक प्रोजेक्ट युएसको आयोजनामा भएको शिविरमा ८२ जनाको मोतिविन्दु र ५ जनाको आँखामा पलाएको मासुको शल्यकृया गरिएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार शल्यकृया शिविर तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ डा. रिता गुरुङको नेतृत्वमा भएको हो । मोतिविन्दु शल्यकृयाका लागि सामुदायिक आँखा केन्द्र फाप्लुले जिल्लाको विभिन्न स्थानमा मोतिविन्दु छनौट शिविर सञ्चालन गरेको थियो ।

हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु, स्वास्थ्य कार्यालय सोलुखुम्बु, जिल्ला समन्वय समिति, सोलुदुधकुण्ड नगरपालिकासहित सबै स्थानीय तहहरुको समन्वयमा शिविर सम्पन्न भएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार