सोलुका ३ हिमालबाट ५ मानव शवसहित १० टन फोहोर संकलन गरिने

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – नेपाली सेनाले यस वर्ष सोलुखुम्बुका अवस्थित सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’ मार्फत ति तिन हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने भएको छ ।

सेनाले पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर सङ्कलन गर्ने योजना रहेको जानकारी दिएको छ । सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो ।

उनीहरूमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् । फोहर सङ्कलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ । सगरमाथाको आठ हजार मिटर उचाइसम्म पुगेर फोहर सङ्कलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी अदित्य कार्कीले बताउनुभयो ।

यही चैत २९ गतेदेखि सुरु हुने फोहर सङ्कलन अभियान ५० दिनसम्म सञ्चालन हुने छ । सो अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुने छ । खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा सङ्कलित कुहिने फोहर नाम्चेमै र नकुहिने फोहर काठमाडौँ ल्याएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।

यस्तै मानव शव सगरमाथाको दोस्रो शिविरबाट हेलिकप्टरमा आधार शिविर ल्याइने र त्यहाँबाट लुक्ला लगेर शव पहिचान गरेर सम्बन्धितको जिम्मा लगाइने छ । विदेशीको शव भए गृह मन्त्रालयमार्फत प्रक्रिया पु¥याएर पठाउने व्यवस्था मिलाइने सेनाले जनाएको छ ।

सन् २०२३ मा सफाइ हिमाल अभियानअन्तर्गत सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइ गरेको थियो । ती हिमालबाट ३५ टन फोहर सङ्कलन गरिएको थियो । सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ ।-फोटो : फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार