सोलुदुधकुण्ड नगरमा सुरु भयो अपाङ्गता रोकथाम शिविर

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना शिविर सुरु भएको छ । नगरपालिकाले कोशी प्रदेश सरकार र करुणा फाउण्डेसनसँगको लागत साझेदारीमा आज मंगलवार वडा नम्बर १ टाक्सिन्दुबाट शिविर सुरु भएको हो ।

उक्त शिविरको उपमेयर गान्धी माया तामाङले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उपमेयर तामाङले फरक क्षमता भएका व्यक्तिहरुलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

अशक्त तथा अपांगता भएकाहरुको हक अधिकारलाई स्थापित गराउन समेत स्थानीय सरकार प्रतिवद्ध रहेकाले ढुक्क भएर सेवा लिन उहाँले आग्रह गर्नुभयो । नगरपालिकाको ११ वटै वडामा सञ्चालन हुने शिविरमा टाक्सिन्दुबाट २४ जनाले सेवा लिएका छन् । जसमा ४ जनाले नयाँ परिचयपत्र प्राप्त गरेको वडा कार्यालयले जनाएको छ ।

यहि वैशाख ४ गतेबाट सुरु भई १४ गतेसम्म जारी रहने शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको विषेशज्ञ चिकित्सा प्राविधिद्वारा प्रारम्भिक जाचँ तथा आवश्यकता पहिचान गरिने प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले जानकारी दिनुभयो । भोली ५ गते वडा नम्बर २ वेनी, ६ गते वडा नम्बर ३ वडा तामाखानी, ७ गते वडा नम्बर ४ फाप्लु र साथै वडा नम्बर ५ सल्लेरीमा शिविर सञ्चालन हुने छ ।

यस्तै वैशाख ८ गते वडा नम्बरं ५ जैदु, ९ गते वडा नम्बर ६ दोर्पू, १० गते वडा नम्बर ७ गार्मा, ११ गते वडा नम्बर ८ केरुङ, १२ गते वडा नम्बरं १० फताञ्जे, १३ गते वडा नम्बर ९ वडा गोराखानी र १४ गते वडा नम्बर ११ तिङ्लामा शिविर सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार