सोलुखुम्बु – हिमाल एफ.एम. ९०.२ मेगाहर्जको केन्द्रीय कार्यालय सल्लेरी सोलुखुम्बुमा चोरी भएको छ । एफ.एम. कार्यालयमा राती अज्ञात व्यक्ति प्रवेश गरी महत्वपुर्ण कागजातसहितका जिन्सी सामाग्रीहरु चोरी गरेको स्टेशनले जनाएको छ ।
चोरी भएका सामाग्रीहरुमा ल्यापटप, हार्डडिक्स, कर्मचारी हाजिरी फायल, कार्यालयको बिल लगायत रहेको स्टेशन म्यानेजर सुवास दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार गत चैत २६ गते राती कार्यालयमा लगाइएको ताल्चाको चाबी राखेको स्थान पत्ता लगाइ खोलेर अज्ञात व्यक्ति भित्र प्रवेश गरी चोरी गरेका हुन् ।
“चैत्र २७ गते विहान अफिसमा राती मान्छे छिरेको जानकारी स्टाफले मलाई गराएका थिए, मैले स्टाफहरु कोही आवश्यक परेकाले आएका होलान भन्ने लागेर सामान्य रुपमा लिए । तर जब वैशाख ८ गते शनिवार स्टाफ मिटिङ भयो, सो समयमा कर्मचारी हाजिरी फायल खोजी गर्दा राखेको स्थानमा भेटिएन, त्यसपछि अन्य सामाग्रीहरु यकिन गर्दा अन्य जिन्सी सामानहरु समेत चोरी भएको निश्चित भयो” म्यानेजर दर्नालले भन्नुभयो ।
चैत २७ गते बिहान रेडियो खोल्न आउँदा विषयगत शाखाका ढोकाहरु खुला रहेको र बन्द गरिएको लाइटहरु समेत खोलिएको अवस्थामा रहेको प्राविधिक सुमिता तामाङले बताउनुभयो । प्राविधिकले राती १० बजे रेडियो बन्द भएपछि दैनिक लाइट आफ गरेर विषयगत शाखाका ढोकाहरु समेत बन्द गरेर मात्रै निश्कने गरेको स्टेशनले जनाएको छ ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उजुरी दिइसकेको रेडियोका अध्यक्ष दावागेलु पाख्रिन (राजु)ले जानकारी दिनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । घटनाको हिमाल एफ.एम.ले भत्सना गर्दै दोषी उपर हदैसम्मको कानुनी कारबाहीको माग गरेको छ ।