सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेका अग्नी पीडित परिवारलाई जिल्ला विपत व्यवस्थापन समितिले राहत प्रदान गरेको छ ।
जंगलबाट बस्तीमा प्रवेश गरेको आगोले घर गुमाएका ३ घर परिवारलाई प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमै पुगेर नगदसहित राहत सामाग्री प्रदान गरेका हुन् ।
जिल्ला स्तरीय विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री), प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेसहित घटना स्थल पुगेको टोलीले शक्ति राई र मकर राईको परिवारलाई नगद १५ हजार, त्रिपाल, कम्बल, रजाई ३/३ थान र एक थान कम्बल प्रदान गरिएको छ ।
यस्तै करबिर राई परिवारलाई त्रिपाल, कम्बल, रजाई ३/३ थान र एक थान कम्बल प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईसहितका स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती थियो ।
मङ्गलवार जङ्गलमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा पाँच घर जलेर नष्ट भएको थियो । घटनामा ६० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरिएको थियो ।