सोलुखुम्बु – सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लाग्नुभएको छ । गएको वर्ष २८ औँ पटक सगरमाथाको आरोहण गर्नुभएका शेर्पा फेरि सगरमाथा आरोहणका लागि आधार शिविर पुग्नुभएको हो ।
उहाँ आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आउनुभएको छ । आफ्नो पेसा भएकाले यति पटक भनेर गन्ती नगरि सकुन्जेल सगरमाथा आरोहण गर्ने उहाँले बताउनुभयो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहन्छ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ९० जनाले अनुमति लिएका छन् ।
आरोहण सहयोगीहरूले भने अनुमति लिनुपर्दैन । सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम भइसकेको र मौसमले साथ दिएमा वैशाखाको अन्तिम हप्तादेखि आरोहण शुरु हुने पर्यटन विभागले जनाएको छ ।