सोलुको पञ्चनमा १० घर जले, कयौं पशुचौपाया हताहत

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनमा १० घर जलेर नष्ट भएको छ । आज बुधवार जङ्गलको डढेलो गाउँमा प्रवेश गर्दा सो क्षेत्रका १० घर जलेर नष्ट भएका छन् भने कयौं पशुचौपाया हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगोले स्थानीय बुद्धिमाया चर्मकार, पुर्ण बहादुर अधिकारी, काली बहादुर अधिकारी, हस्तिमाया राई र पारसमणी राईको घर तथा गोठ जलेर नष्ट भएको छ ।

यस्तै बडीसुवा राई, उत्तर कुमार राई, दिल बहादुर राई, निशान राई र टिकाध्वज राईको घर रहेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा दर्जनौं गोठ तथा घर पालुवा पशुचौपाया जलेर हताहत भएका छन् । यद्यपि क्षतिको विवरण भने आउन बाकी छ ।

त्यस क्षेत्रका अधिकाङ्श घरहरु खरले छाएकाले भरपुर प्रयत्न गर्दागर्दै आगोबाट जोगाउन नसकिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।

सुख्खा मौसम भएकाले स्थानीय निजि जङ्गलमा लागेको आगो एक्कासी बस्तीमा फैलिएको पाइएको प्रमुख जिल्ला अधिकारी देवि पाण्डे( खत्री )ले बताउनुभयो ।

आगोले उठिबास लगाएपछि पीडितको बिचल्ली भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले बताउनुभयो । साथै उहाँले बिपत्तिमा  सबैले सहयोग गर्न समेत  आवाहन गर्नुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आगलागी पीडितलाई राहत तथा उद्दारका लागि खट्न पालिका स्तरीय विपत व्यवस्थापन समितिसहितका संयन्त्रलाई निर्देशन दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुग्नुभएर स्थलगत निरीक्षण गर्नुभएको थियोे ।

आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका जनशक्ति परिचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार