सोलुखुम्बु – सोलुखुम्बुकोे थुलुङ दुधकोशी गाउँपालिकाले पञ्चनका आगलागी पीडितलाई आर्थिकसहित अन्य आवश्यक सामाग्री राहत दिने निर्णय गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको भर्चूअल कार्यपालिका बैठकले आर्थिकसहित अन्य राहत सामाग्री दिने निर्णय गरेको हो ।
जंगलमा लागेको आगो गाउँ पस्दा बुधबार वडा नम्बर ३ का १० घर जलेर पुर्णरुपमा नष्ट भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मानिस बस्दै आएको तीनवटा घर र मानिस नबस्ने सात घर जलेर पुर्णरुपमा नष्ट भएको छ ।
यस्तै गाईगोठ र बाख्राको खोर जेलेको छ भने केही चौपाय समेत जलेर घाइते भएका छन् । मानिस बसीरहेको तीनघर परिवारलाई प्रति परिवार रू ५० हजार नगदसहित जस्तापाता, खाद्यन्न, लत्ताकपडासहितको राहत प्याकेज प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले बताउँनुभयो ।
अन्य सात घर परिवारलाई प्रति परिवार रू २५ हजार नगद राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । तीन घर परिवारलाई बासको समेत समस्या भएकाले बिहिबारनै जस्तापातासहितको आवश्यक सामाग्री हस्तान्तरण गरिने जनाइएको छ ।
एकद्धार प्रणालीमार्फत राहत प्रदान गरिने
आगलागी पीडितलाई एकद्धार प्रणालीमार्फत राहत प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ । जसका लागि सम्बन्धित वडाका वडा अध्यक्ष इन्द्रमणी दाहालको संयोजकत्वमा तीन सदस्य राहत वितरण तथा समन्वय समिति गठन गरिएको छ ।
जसको सदस्यमा वडा नम्बर दुईका वडा अध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोगक युजन बस्नेत र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की रहनुभएको छ । उक्त समितिले आगलागी पीडितलाई राहत सामाग्री उपलब्ध गराउन इच्छुक सबै संग समन्वय गर्ने र वितरणको लागि आवश्यक व्यवस्था गर्ने बताइएको छ ।
जंगलको डढेलो गाउँ पसेपछि खरको छाना भएको अधिकांश घरमा क्षति भएको छ । उक्त आगो नियन्त्रण गर्नकालागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधि लगायत खटेका थिए ।
बैठकले आगो नियन्त्रणमा खट्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । आगलागी जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबैजना सचेत हुनुपर्ने बताइएको छ । –––