सोलुखुम्बु – अत्याधिक गर्मीका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले केही विद्यालयको पठन समय परिवर्तन गरेको छ । गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या भएपछि आज बिहीवार बसेको नगर कार्यपालिकाको बैठकले नौ वटा सामुदायिक विद्यालयको पठन समय बिहान ६ बजेदेखि ११ बजेसम्म निर्धारण हो ।
सुनकोशी र दुधकोशी किनारमा रहेका वडा नम्बर १, २, ४, ५, ८, ९ र १० को एक÷एक वटा तथा वडा नम्बर ११ का दुई वटा गरी नौ वटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको नगरप्रमुख बिमला राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य स्थानमा रहेका विद्यालयका विद्यार्थीहरुमा पनि दिउँसो गर्मीका कारण पठनपाठनमा समस्या भएमा समय परिवर्तन गरिने निर्णय भएको छ । लामो समयको खडेरीका कारण तापक्रम नियमित बढ्दै जाँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुन थालेको छ ।
“अन्य विद्यालयको हकमा पनि व्यवस्थापन समितिले निर्णय गरेको खण्डमा समय पुर्नविचार गर्छौ, सम्भवत २० वटा जति विद्यालय हुन्छ होला बिहान ६ बजेबाट पठनपाठन सुरु हुने ।” नगरप्रमुख राईले भन्नुभयो ।
हलेसी तुवाचुङमा रहेका ९० वटा समुदायिक र चार वटा संस्थागतमा गरी छ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ । नगरको कोशी गर्ति क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियस नाघेको नगरपालिकाले जनाएको छ ।