छुवाछुतका मुद्धा हेर्न सोलुखुम्बु प्रशासनमा ‘दलित डेक्स’ खडा

  हिमाल समाचार
539 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ‘दलित डेक्स’ स्थापना गरिएको छ । जातीय विभेद तथा छुवाछुतका घटनालाई सहजिकरण गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आज कार्यालयमा ‘दलित डेक्स’ खडा गरेको हो ।

गृह मन्त्रालयको परिपत्र अनुसार कार्यालयले नायब सुब्बा मनिसा राईको संयोजकत्वमा डेक्स खडा गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको सदस्यमा संयुक्त दलित एकता समाजका अध्यक्ष कान्छा बहादुर विश्वकर्मा(केबी) र सदस्य कमला विश्वकर्मा रहेका छन् ।

डेक्सले जातीय विभेद, छुवाछुत तथा उत्पीडनका घटनामा अनुसन्धान तथा सहजिकरण गर्ने प्रजिअ खत्रीले बताउनुभयो । जातिय छुवाछुतका घटनाहरु भए निर्धक्क रुपमा उजुरी गर्न समेत जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ । नेपालमा दलित समुदायका मानिसमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ ।

समाजमा मानिसहरू शिक्षित भए तर सचेत हुन सकेनन्, जसका कारण अहिले पनि कुनै न कुनै रूपको छुवाछुत र विभेद कायमै रहेको अधिकारकर्मीको भनाइ छ । सोलुखुम्बुका दलितमाथि भएका कतिपय विभेद सार्वजनिकनै हुँदैनन् भने कतिले अदालती प्रक्रियामा जान खोज्दा अवरोध खेप्नुपर्ने बाध्यता छ ।

केही घटना मिलापत्र र लेनदेनमा टुंगिन्छन । नेपालको संविधान, २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यको धारा २४ मा ‘छुवाछुत तथा भेदभावविरुद्धको हक’ व्यवस्था छ ।

संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिनेछैन’ भन्ने व्यवस्था छ भने धारा २४ को उपधारा ४ अनुसार ‘यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार