सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित ८२ सोलु हाइड्रोपावरको सुरुङमार्गमा अचानक धुवाँको मुस्लो निस्किएको छ । आज सोमबार विहान अन्दाजी ६ः३० बजे सुरुङमार्ग भित्रमा काममा प्रयोग भएको डोजरबाट एक्कासी धुवाँको मुस्लो निस्किएपछि सनसनी मचिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुरुङमार्गको ६ सय ५० मिटर भित्र काम गरिरहेको मेसिनको इन्जिनबाट धुवाँको मुस्लो आएपछि सबै कामदारहरु बाहिर निस्किएको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो ।
तत्कालिन समयमा सुरुङ भित्र आगलागी भएको खबर बाहिर आएपछि घटनाको बास्तविकता बुझ्दा मेसिनमा आएको खराबीका कारण धुवाँ निस्किएको पाइएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।
आगलागी भएको खबर आएपछि सोलुदुधकुण्ड नगरपालिकाको दम्कलसहित ठुलो संख्यामा सुरक्षा फोर्स घटनास्थल पुगेको थियो । सुरुङ भित्रबाट धुवाँको मुस्लो आएपछि केही समय अवस्था तनावग्रस्त बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले अवस्था सामान्य भइसकेको छ भने दम्कल समेत सल्लेरी फर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।