खोटाङमा खालिङ राईहरुको ऐतिहासिक पूर्खा भेला सम्पन्न

सोलुखुम्बु – किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति खोटाङले जिल्ला स्तरीय खालिङ राईहरुको प्रथम पूर्खा भेला तथा २ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । २०८१ बैशाख २१ र २२ गते खोटाङको दिक्तेल रुपाकोट मजुवागडी नगरपालिका–१४, बुइपामा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाको केन्द्रीय नेतृत्वसँगै सोलुखुम्बु, खोटाङ, उदयपुर, सुनसरी, सिराहाको खालिङ पुर्खाहरुबीच बृहत छलफल गरिएको थियो ।

कार्यक्रमको सहजकर्ताका रुपमा खालिङहरुको मुख्य थलोसोलुखुम्बुबाट पुर्खाद्वय पुर्ण बहादुर खालिङ (जिरिसे) र मिङमार खालिङ (फटिबर) रहनुभएको थियो । उहाँहरुले खालिङ राईहरुको मरण संस्कार, बिबाह, पितृकुल पुजा, भुमे, न्वारान आदि रितिरिवाज र परम्पराबारे प्रस्तुतिकरणसँगै तथा सहजीकरण गर्नुभएको थियो ।

विभिन्न जिल्लामा छरिएर बसोबास गर्दै आइरहेको खालिङ राईहरुले आफ्नो भाषा, भेषभुषा र परम्परागत रितिरिवाज तथा संस्कारको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बल बहादुर खालिङ, पूर्व अध्यक्ष विषण खालिङ, बरिष्ठ उपाध्यक्ष जय कुमार खालिङसँगै जिल्ला कार्यसमिति सोलुखुम्बु, मोरङ–सुनसरी, उदयपुरका अध्यक्ष तथा प्रतिनिधिहरु साथै खोटाङ जिल्लाका खालिङहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अग्रज पुर्खाहरुलाई पगरी (फेटा) र फुर्का अनि जिल्ला प्रतिनिधिहरुलाई मायाको चिनो कठुवा (चुन्ठी) दिएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार