सोलुखुम्बु – हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजले नयाँ वर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक तथा वितरण गरेको छ । समाजले आज नेचासल्यान गाउँपालिका–३ स्थित विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक तथा वितरण गरेको हो । कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोलाको अध्यक्षता तथा विव्यस अध्यक्ष ओम प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो कार्यक्रममा पुर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष देवेन्द्र शर्मा, शिअस अध्यक्ष नानुमैया बास्तोला, सहायक प्रअ बेदनाथ बास्तोला, प्रकाश राई, संस्थापक सचिव राजन बास्तोला, विव्यस सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । विद्यालयले आगामी माघ १४ गते स्वर्ण महोत्सवको आयोजना गर्दै छ ।
पूर्व विद्यार्थी समाजले स्वर्ण महोत्सव अघि विभिन्न १० वटा कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएको थियो । बाँकी ९ वटा कार्यक्रमहरु माघ १४ अघि नै गरिसक्ने समाजका अध्यक्ष दिनराज बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेरो जन्मदिन मेरो पुस्तकालय अभियानलाई निरन्तरता दिने, पुर्व विद्यार्थी समाजको लोगो अङ्कित एक कक्षा कोठा एक धारा, पुर्व विद्यार्थी समाजको लोगो अङ्कित एक कक्षा कोठा एक भित्ते घडी, सामुदायिक विद्यालय विज्ञको उपस्थितिमा बृहत शैक्षिक अन्तरक्रिया आयोजना गर्ने जनाइएको छ ।
यस्तै विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण, स्वर्ण महोत्सवको लकेट प्रकाशन तथा वितरण, स्वर्ण महोत्सव लोगो अङ्कित मायाको चिना, हिमाल दर्शनबाट सेवा निवृत पुर्व शिक्षक एवम् कर्मचारी सम्मान र स्वर्ण महोत्सवमा केहि प्रतियोगितात्मक कार्यक्रमको आयोजक र प्रायोजक पुर्व विद्यार्थी समाज कार्यक्रम गर्ने संकल्प गरिएकोे छ ।