सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ लोदिङ स्थित ऐतिहासिक चेदिङ्मा पोखरी संरक्षणमा पिके साुमदायिक वन जुटेको छ । धार्मिक तथा पुरातात्विक महत्व बोकेको उक्त प्राकृतिक पोखरी संरक्षण गरी बाह्रै महिना पानीले भरिभराउ बनाउन साुमदायिक वन समिति जुटेको हो ।
पिके सामुदायिक वन क्षेत्रमा पर्ने सो पोखरी वन्यजन्तु तथा वासस्थान संरक्षण कार्यक्रम अन्र्तगत आज आइतवारबाट विधिवत् रुपमा कार्य अघि बढाएको सामुदायिक वनका अध्यक्ष सन्त बहादुर मगर(र्याविट)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार धर्म गुरु दोमी लामाबाट पाठपुजा गरी बौद्ध परम्परा अनुसार थालनी गरिएको काम एक महिना भित्र सक्ने लक्ष्य राखिएको छ । जसका लागि झण्डै डेढ किलोमिटर टाढा रहेको ठोखोलाको पानी पाइपमार्फत पोखरीमा झारिने जनाइएको छ ।
“वर्षातमा प्रकृतिक रुपमा अत्यन्त आर्कषक र मनमोहक पोखरी निर्माण हुन्छ, तर त्यही पोखरी हिउँदमा सुकेर सुख्खाग्रस्त बन्छ त्यही भएर यसलाई हामीले हिउँद वर्षात नै पोखरीमा पानी भराउन यो योजना अघि बढाएका हौँ, त्यसो गर्दा हिउँदमा वन्यजन्तुहरु समेत पानीको खोजीमा भौतारिनु नपर्ने हाम्रो विश्वास हो ।”अध्यक्ष मगरले भन्नुभयो ।
चार लाख २० हजार रुपैयाँको उक्त योजनाका लागि तिन लाख ५० हजार रुपैयाँ डिभिजन वन कार्यालय सोलुखुम्बु र बाँकी ७० हजार सामुदायिक वनले वेहोर्ने जनाइएको छ । पोखरी नजिकैसम्म मोटरबाटो समेत पुगेकाले आन्तरिक तथा बाह्रय पर्यटन पर्वद्धनमा समेत पोखरी पुर्नभरणले टेवा पुग्ने जिल्ला समन्वय समितिका उपप्रमुख टिकामाया मगरले बताउनुभयो ।
पोखरी संरक्षणको थालनी कार्यक्रममा बोल्दै उपप्रमुख मगरले पोखरी अत्यन्त सुन्दर र आर्कषक भएकाले यसको संरक्षण गरेको खण्डमा आन्तरिक पर्यटकको केन्द्र बन्ने बताउनुभयो ।
यस्तै वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले सो पोखरी पर्यटकीय स्थल मात्र नभई धार्मिक आस्था र इतिहास समेत बोकेको स्थल भएकाले यसको संरक्षणमा आफू निरन्तर लागि परेको बताउनुभयो । जसबाट वन्यजन्तु संरक्षण र पर्यपर्यटनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ । कार्यक्रममा दर्जनौँ स्थानीयबासीको सहभागिता रहेको थियो ।
यस्तो छ पोखरीको पौराणिक कथन
पौराणिक कथन अनुसार उक्त पोखरीमा भएको स्थानमा गुरुङ समुदायले भेडा गोठ राख्दै राख्ने गर्दथे । एक रात गोठ राखेकै समयमा राती एक्कासी सो स्थानमा पानी भरिएर पोखरी भइ भेडागोठसहित मानिस समेत त्यही डुबेको कथन छ ।
सो समयदेखि उक्त गोठ बस्ने स्थान पोखरीमा परिणत भएको स्थानीय जानकारहरु बताउँछन् । अहिले पनि सो पोखरी भएको स्थानमा भेडा गोठालाले प्रयोग गर्ने घुमराली, डेली, ठेकी, दुदेरी, कुकुर, भेडा लगायतको ढुंगाको आकृति प्रष्ट रुपमा देख्न पाइने जानकारहरुको भनाइ छ । जंगलको बिचमा अवस्थित पोखरी नजिकै मन्दिर पनि रहेको छ ।