ऐँसेलुखर्क प्रथम अध्यक्ष कप महिला तथा पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुर र झापालाई

  प्रकृति राई
756 Shares

खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा आयोजित ऐँसेलुखर्क प्रथम अध्यक्ष कप महिला तथा पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालिका झापाले हात पारेका छन । जिल्लाको ऐँसेलुखर्क खेलकुद विकास समितिको आयोजनमा सञ्चालन गरिएको खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई हराउँदै आमचोक तथा षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै दमकले उपाधि हात पारेको हो ।

त्यसैगरी प्रतियागितामा पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर दोस्रो, सोताङ गाउँपालिका सोलुखुम्बु तेस्रो र सिद्धिचरण नगरपालिका ओखलढुंगा सान्त्वना भएका छन् भने महिलातर्फको प्रतियोगितामा केपिसगढी गाउँपालिका बाक्सिला दोस्रो, आयोजक ऐँसेलुखर्क गाउँपालिका तेस्रो र सोही गाउँपालिकाको वडा नम्बर ३ ऐँसेलुखर्क सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना महिला तथा पुरुष दुवै टिमलाई समान पुरस्कार क्रमशः नगद रु २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो ।

 

त्यस्तै विद्यागत पुरस्कारमा महिलातर्फ आमचोककी आरुषा तामाङ र पुरुषतर्फ झापाका रोमन बस्नेत उत्कृष्ट खेलाडी घोषित गरी पुरस्कार स्वरुप नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयेजकले जनाएको छ । क्रमशःमहिलातर्फ बेस्ट स्पाइकर रोशिका बराइली आमचोक, बेस्ट सेटर शिखा कोयुराई केपिलासगढी, बेस्ट ब्लकर सुनिता खत्री केपिलासगढी, बेस्ट डिफेन्डर अस्मिता राई ऐँसेलुखर्क, बेस्ट सर्भर विनिता राई केपिलासगढी तथा अनुशासित खेलाडी रोमा श्रेष्ठ आमचोक र बेस्ट प्रशिक्षक तारा मगर आमचोकलाई नगद तीन–तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । पुरुषतर्फ बेस्ट स्पाइकर मनीष गौतम षडानन्द, बेस्ट सेटर राजन लिम्बू ‘मस्कान’ झापा, बेस्ट ब्लकर कृष्ण रसाइली षडानन्द, बेस्ट डिफेन्डर भुवन केसी झापा, बेस्ट सर्भर कृष्ण तामाङ झापा, अनुशासित खेलाडी सञ्जय बस्नेत सोताङ तथा बेस्ट प्रशिक्षक सुमन रानामगर झापा घोषित भएको र प्रतियोगितामा सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ दी म्याचलाई समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

विजेता समूह तथा खेलाडीलाई गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राई र उपप्रमुख राजेश राजभण्डारीले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको छ । गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय ‘ऐँसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउनुभयो । प्रतियोगिताका लागि गाउँपालिकाले रु. १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवं वडा नम्बर ३ ऐँसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार