सोलुखुम्बु – विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या दोब्बरले बढेको छ । सगरमाथा क्षेत्र भित्रिनेको तुलनामा बाहिरिनेको संख्या दोब्बरले बढिरहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।
समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार अहिले दैनिक ८० जनाको हाराहारीमा विदेशी पर्यटकहरु खुम्बु भित्रिरहेका छन् । तर दैनिक सरदर १६५ जना भन्दा धेरै विदेशी पर्यटकहरु खुम्बुबाट बाहिरिने गरेका छन् ।
सिजनमा भित्रिने पर्यटकको संख्या बढी हुने खुम्बु क्षेत्रमा अहिले बाहिरिनेको संख्या उच्च रहेको जनाइएको छ । सिजन सकिन लागेसँगै आउने भन्दा फर्किनेको संख्या बृद्धि भएको अध्यक्ष शेर्पाको भनाइ छ । यस क्षेत्रमा वर्षको २ सिजन भदौ, असोज, कार्तिक, मंसिर र चैत, बैशाख, जेष्ठ महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
अन्य समयमा पनि फाट्टफुट्ट मात्रामा पर्यटक आउने भएपनि सिजनमा भने खचाखच विदेशी तथा स्वदेशी पर्यटकहरुले भरिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । खुम्बु क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ हिमश्रङ्खला तथा मनोरम दृष्यहरु रहेका छन् ।