थुलुङ दुधकोशी अस्पताल मुक्लीमा शल्यक्रिया सेवा सुरु

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज मंगलवारदेखि शल्यक्रिया सेवा सुरु गरिएको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार जटिल शल्यक्रिया मार्फत प्रसुती गराएर सेवाको विधिवत सुरुवात गरिएको हो । थुलुङ दुधकोशी गाउँपालिका– ७ कि रितुकला राईले शल्यक्रिया मार्फत छोरालाई जन्म दिनुभएको प्रवक्ता कार्कीको भनाइ छ ।

एमडिजिपी डाक्टर अजय चौधरीको टिमले सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ । पालिकामै शल्यक्रिया शिविर सुरु भएपछि जटिल प्रकृतिका बिरामीको रेफर गर्नुपर्ने र एम्बुलेन्स वा हेलिकप्टर चार्टर गरेर लाखौँ आर्थिक भार खेप्नुपर्ने बाध्यताको अन्त्य भएको पालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

पालिकाले पोष्टमार्टम गृह तथा प्लासेन्टपिट निर्माणको काम अघि बढाएको छ भने डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र (एचए) कक्षा संचालन गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार