फाप्लुमा ’टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार सेवा सुरु

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – हिमाली सोलुखुम्बुको फाप्लुमा पहिलो पटक आँखाको ’टेलिअफ्थाल्मोलोजी’ सेवा सुरु गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले आजबाट उक्त प्रविधिबाट सेवा गरेको हो । सो प्रविधिबाट यहाँका आँखाका बिरामीलाई तिलगंगा आँखा अस्पताल काठमाडौका विशेषज्ञहरुले अनलाइनमार्फत प्रत्यक्ष सेवा दिन सक्ने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले जानकारी दिनुभयो ।

’टेलिअफ्थाल्मोलोजी’ प्रविधि भनेको आँखाको पर्दामा देखिएको समस्या जुन पछाडीबाट सबै फोटो खिच्ने र त्यहि फोटो हेरेर विशेषज्ञले समस्या पत्ता लगाउने प्रविधि हो । यसबाट फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगंगा आँखा प्रतिष्ठानको ’टेलिअफ्थाल्मोलोजी’ शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने आँखा कार्यकर्ता दिनेश राईले बताउनुभयो ।

विकट स्वास्थ्य संस्थामा आएका बिरामीको रिपोर्ट सिधै सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञले हेर्ने प्रविधिभन्दा ’टेलिअफ्थाल्मोलोजी’ अलिक प्रभावकारी प्रविधि भएको बताउँछन् । यो विधिबाट बिरामीहरुले प्रत्यक्ष डाक्टरसँग कुराकानी गरी आफ्नो समस्या बताउन सक्छन् ।

यो प्रविधि हिमाल स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लु, हिमालयन क्याट्रयाक्ट प्रोजेक्टसँगको समन्वयमा तिलगंगा आँखा प्रतिष्ठानले जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताउनुभयो ।

जिल्ला सामुदायिक आँखा केन्द्रले सञ्चालनमा ल्याएको यस प्रविधिले ग्रामीण भेगको दुरदराजमा रहेका बिरामीहरूलाई काठमाडौं पुगेर सेवा लिन पर्ने झन्झटबाट मुक्त हुने अध्यक्ष शेर्पाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार