सोलुखुम्बु – नेपाल प्रहरीका पुर्व प्रहरी सहायक निरीक्षक(असइ) इश्वर प्रसाद बन्जरा सामाजिक कार्यमा सकृय हुनुभएको छ । खोटाङको बराहपोखरी गाँउपालिका–२ सुन्तले निवासी जागिरबाट अवकाश पाएपछि अहिले गाउँमा सामाजिक कार्यमा अग्रसर हुनुभएको हो ।
लामो समय ट्राफिक व्यवस्थापनमा काम गरेर जागिरबाट अवकाश लिनुभएका बन्जरा अहिले ट्राफिक नियमको बारेमा जनचेतना जगराउँदै विभिन्न विद्यालय पुगिरहनुभएको छ । साथै उहाँले विद्यार्थीहरुलाई प्राथमिक उपचारका लागि आवश्यक औषधीहरु पनि सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।
आइतवार बाल कन्या मावि धर्तुङ र सिद्वेश्वरी आवि सिन्ताङ, सोमवार भानुभक्त आवि साउनेचउर र श्री प्राथमिक आवि भोर्लेनी पुगेर प्राथमिक उपचार बक्स हस्तान्तरण गरिएको बन्जराले बताउनुभयो । वितरण गरिएको सामग्रीहरुमा सिटामोल, एमजिट, ब्रेटाडिन, ह्यान्डिप्लस, कटन, बेन्डेज, जिवनजल लगातयत गरी ७ प्रकारका औषाधी रहेका छन् ।
जागिरका दौडानमा सिकेका कुराहरु अवकाशपछि पनि समाजमा फैलाउने हेतुका साथ आफु लागिपरेको बन्जराको भनाइ छ । पालिकाभरको ३५ वटै विद्यालयमा पुगेर प्राथमिक उपचार सामाग्रीसहितको बक्स वितरण गर्दैसडक पार गर्दा आवश्यक ट्राफिक नियमको बारेमा जानकारी प्रदान गर्ने अभियान्ता बन्जराले बताउनुभयो ।
उँहाले बिरामी भएका विभिन्न व्यक्तिहरुलाई र आगलागी पिडितहरुलाई समेत सहयोग गर्दै आइरहनु स्थानीयले बताएका छन् । उहाँले ट्राफिक प्रहरीमा दुई दशक भन्दा लामो समय सेवा गरी करिब १६ महिना अघि अवकाश लिनुभएको बताइएको छ । अवकाशपछिको आफ्नो समय सामाजिक कार्यमा खर्च गर्ने उहाँको योजना छ ।