सोलुखुम्बु – सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका–७ गार्माले २२० जोर डेक्सबेन्च तयार गरेको छ । विद्यालयमा विद्यार्थीको आर्कषण बढेसँगै फर्निचर अपुग भएकाले नगर स्तरीय करिब १० लाख बजेटबाट उक्त फर्निचर तयार गरेको विद्यालयले जनाएको छ ।
जिल्लाकै उत्कृष्ट र नमुना सामुदायिक विद्यालयको रुपमा परिचित उक्त विद्यालयमा यस अघि निर्माण भएका डेक्सबेन्चहरु समेत पुरानो भएकाले नयाँ निर्माण गरिएको वडाध्यक्ष एवं विव्यस अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो ।
जसका कारण नगरपालिकासँगको समन्वयमा चालु आर्थिक वर्षको बजेटबाट फर्निचर तयार गरिएको उहाँको भनाइ छ ।
प्राविधिक धार तर्फको कृषि बाली विज्ञान समेत अध्यापन हुँदै आएको गार्मा माविमा हाल करिब ६ सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले नगरपालिकासहित सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।