सोलुखुम्बका ४ हजार भन्दा बढी बालबालिकाहरुलाई आइपिभि खोप लगाइदै 

  प्रकृति राई
119 Shares

सोलुखुम्बु ः सोलुखुम्बुका ४ हजार जना भन्दा बढी बालबालिकालाई भोलि आइतबारबाट पोलियो रोग विरुद्धको (आइ.भि.पि) खोप लगाइने भएको छ । आज शनिबार फाप्लुमा बसेको जिल्ला खोप समन्वय समितिको राष्ट्रिय खोप अभियानको बैठकले पोलियो रोग विरुद्ध (आइ.भि.पि) खोप लगाउन छुटेका बालबालिकालाई जेठ १३ गतेदेखि १९ गतेसम्म खोप अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो । राष्ट्रिय खोप अभियान सञ्चाल हुने उक्त कार्यक्रमबाट लक्षित सबै बालबालिका लाभान्वित हुने जिल्ला स्वास्थ्य कार्यलय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । जिल्लामा वि.स २०७३ देखि २०७५ सालसम्ममा खोप लगाउन छुटेका ४ हजार ८ सय ८८ जना जना ५ देखि ८ वर्ष सम्मका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

सोलुखुम्बुका २ सय ९८ वटा खोप केन्द्रमा यो खोप लगाउन लागिएको र  यस खोप अभियान सफल बनाउन लक्षित बालबालीकालाई खोप केन्द्रसम्म जान प्रेरित गर्न सरोकारवाला सबैलाई प्रमुख तिवारीले अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले खोपबारे प्रचारप्रसार गर्न सञ्चार माध्यम र सरोकारवाला सबैलाई अनुरोध गर्दै जिल्ला प्रशासनले गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सो बैठकमा बोल्दै जिल्ला समन्वय प्रमुख कृष्ण प्रशाद निरौलाले जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेविका, शिक्षक र पत्रकार लगायत सबैलाई खोप अभियान सफल बनाउन भुमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

जिल्ला अस्पतालका निमित्त प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य समेत रहनुभएका डा।प्रशान्त शाहका अनुसार पोलियोको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्नेर दिसाबाट बाहिर निस्केर अरुमा सक्ने भएकाले विशेष सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

यो रोग लागेका मानिसको शरिरको कुनै भाग सुकेर जाने हन्छ । यो रोग लागेपछि ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले अतिशीघ्र लुलो पक्षघात गराई अपाङ्ग पनि गराउँछ भने बालबालिकाको मूत्यु समेत हुनसक्छ । साथै बैठकमा जिल्ला अस्पतालका चिकित्सक, शिक्षा, स्वास्थ्य, सुरक्षाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार