रीड नेपालको (टी पी डी) प्रमाणीकरण तालिम आजबाट सुरु भएको छ । रीड नेपालको आयोजना तथा शिक्षा तामि केन्द्र सुनसरी, नगरपालिका र गाउँपालिकाको समन्वयमा आजबाट आधारभूत तहको १० दिने सामाजिक विषयको प्रथम चरण तथा विज्ञान विषयको दोस्रो चरण शिक्षकको पेशागत विकास (टी पी डी) प्रमाणीकरण तालिम आज आइतबारबाट सुरु भएको हो । आज सल्लेरीमा अवस्थित जन जागृति माध्यमिक विद्यालयबाट टी पी डी तालिम सुरु भएको छ ।
उक्त तालिमको उद्घाटन शिक्षाविकास तथा समन्वय इकाई प्रमुख पुन्य राज डंगोलले गर्नुभएको हो । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरिको अध्यक्षता तथा इकाई प्रमुख पुन्य राज डंगोलको प्रमुख आतिथ्यमा संचालन भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डंगोलले सुनसरी गएर लिनु पर्ने तालिम आफ्नै जिल्लामा पाउने भएकोले सहभागीहरु भाग्यमानी रहेको बताउदै रीड नेपालले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले तालिममा सिकेका कुरा सीपलाई विद्यालयमा लगेर कक्षाकोठामा प्रयोग गर्न समेत आग्रह गर्नुभयो । त्यस्तै रीड नेपालका शिक्षाविकास संयोजक केशव गिरीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा तालिम केन्द्र सुनसरीसंग समन्वय गरेर प्रमाणीकरण तालिम संचालन गरेको र यो तालिमको सर्टिफिकेट शिक्षातालिम केन्द्र सुनसरीबाट प्राप्त हुने बताउनु भएको छ ।
गिरीले तालिमको आचारसंहिता अनुसार सक्रिय र नियमित रुपमा तालिममा सहभागी हुन सहभागीलाई आग्रह समेत गर्नु भएको छ । तालिममा जिल्लाभरीका विज्ञान विषयमा २० र सामाजिक विषयमा २० गरी ४० जना शिक्षकहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक राजीव ढुंगाना, विष्णु प्रसाद उपाध्याय, बासुदेव वाग्ले र अर्पण रेग्मीले गरिरहनु भएको छ । उक्त कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका शिक्षाशाखा प्रमुख सन्तोस राउत तथा ज.जा.माविका निम्न प्रध्यानाध्यापक गोबिन्द चौलागाईको उपस्थिति रहेको शिक्षाविकास संयोजक गिरीले जानकारी दिनुभयो ।