सोलुखुम्बु – सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् ।
संसारकै सबैभन्दा उच्च स्थानमा दौडँदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीका जवान शेर्पाले उपाधि जितेका हुन ।
सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो हुनुभएको हो । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो ।
पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोश्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै राम कुमार राजभण्डारी तेस्रो हुनुभएको छ ।
महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोश्रो हुनुभएको छ । प्रतियोगितामा २१० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।
सगरमाथामा पहिलो पटक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।