सामुदायिक वन उपभोक्ता महासंघको २९ औँ स्थापना दिवस सोलुखुम्बुमा पनि मनाइयो

सोलुखुम्बु । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औँ स्थापना दिवस सोलुखुम्बुमा पनि मनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुले २९ औँ स्थापना दिवसको प्रतिक स्वरुप २९ वटा विरुवा रोपण गरी दिवस मनाइएको हो । पिके सामुदायिक वन स्थित चेदिङ्गमा पोखरीमा आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले धुपीको विरुवा रोपेर दिवसको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्पाले वन बिनाको मानव सृष्टि कल्पना समेत गर्न नसकिने भएकाले वन जोगाउन र यसबाट फाइदा लिन समेत अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । विश्वमा बढ्दै गएको तापमानलाई रोक्न समेत वनको भुमिका महत्वपुर्ण रहकाले यसको संरक्षण आजको आवश्यकता भएको उहाँको भनाइ छ ।

साथै पिके सामुदायिक वनले चेदिङ्मा पोखरी पुर्नभरणदेखि नर्सरी व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरु गरेकाले त्यसका लागि आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार रहेको प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभयो । डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्री प्रसाद शाहले सामुदायिक वनले दिगो वन व्यवस्थापनमार्फत उत्पादनसँग जोड्नुपर्ने बताउनु्भयो ।

वन क्षेत्रमा बहुमुल्य जडिबुटी, काठपात लगायतका वस्तुहरु यतिकै खेर गइरहेकाले कानुन संवत रुपमा आम्दानीसँग जोडनुपर्ने उहाँको भनाइ छ । जसलाई साकार बनाउन सामुदायिक वनहरुले अघि सारेको योजनालाई डिभिजन वनले साथ दिने प्रमुख शाहले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतले सामुदायिक वन उपभोक्ता समितिलाई एकीकृत गर्दै सुसुचित गर्न आफूहरु लागि परेको बताउनुभयो । जसका लागि डिभिजन वन कार्यालयको साथ अपरिहार्य रहेको उहाँको भनाइ छ ।

पिके सामुदायिक वनको पोखरी क्षेत्र अत्यन्त पर्यटकीय र रमणीय क्षेत्र समेत भएकाले कार्यक्रम स्थलको रुपमा छनौट गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । पिके सामुदायिक वन सोलुदुधकुण्ड नगरपालिका–३ का अध्यक्ष सन्त बहादुर मगर(¥याविट)ले चेदिङ्मा पोखरीलाई पर्वद्धन गरी पर्यटन आर्कषित गर्नमा सामु्दायिक वनले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

वन र वन्यजन्तु्को संरक्षण गर्दैै वन क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तारमा सोलुदुधकुण्ड नगरपालिकाको साथ महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

महासंघ जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतको अध्यक्षता, नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमु्ख आतिथ्यता तथा उपप्रमुख गान्धी माया तामाङको विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधी, स्थानीयवासी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरोकारवाला गरी करिब ४५ जनाको सहभागिता रहेको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुको आयोजानमा भएको सो कार्यक्रम पिके सामुदायिक वनको व्यवस्थापन तथा लाफा निर्माण सेवाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार