सोलुखुम्बु । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख एवं समन्वय समिति महासंघका केन्द्रीय सदस्य निरेन तामाङले सडक विकासको हिसाबले सोलुखुम्बु पछि देखिएको बताउनुभएको छ ।
हिमाल एफ.एम.को कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दै प्रमुख तामाङले विकासको पहिलो खुड्किलो मानिने सडक विकासमा पर्यटकीय जिल्ला सोलुखुम्बु कम्जोर देखिएको बताउनुभयो ।
सडक विकास बिना अन्य विकासे कामले गति लिन नसक्ने भएकाले सडक विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड छ । संघीयता आएको ७ वर्ष पुरा हुँदा समेत जिल्लाको सबै पालिका केन्द्रहरुमा पक्की सडक पुग्न नसक्नु दुखद भएको प्रमुख तामाङले बताउनुभयो ।
कच्ची सडकहरु विस्तार भएको पाइएपनि पक्की हुन नसक्दा ति सडकहरुका कारण नागरिकले झन धेरै सास्ती पाउने उहाँको भनाइ छ । जसका लागि यहाँका जनप्रतिनिधिहरु गम्भीर हुन आवश्यक रहेको उहाँको जोड छ । सडकको भरपर्दो विकास हुने हो भने पर्यटनबाट समेत जिल्लाले राम्रो आर्थिक उपार्जन गर्न सकिने प्रम्ुख तामाङको भनाइ छ ।
सगरमाथा अवस्थित जिल्ला भएकाले सोलुको विकासमा पर्यटन नै प्रमुख आधार रहेको उहाँको भनाइ छ । यद्यपि पर्यटन पुर्वधार तथा विकासमा सोचे अनुरुप विकास हुन भने नसकेको उहाँको तर्क थियो ।
आठ स्थानीय तह रहेको जिल्लाको सदरमुकाम समेत रहेको सोलुदुधकुण्ड नगरपालिका बाहेक अन्य सबै पालिका केन्द्रमा हालसम्म पक्की सडक पुग्न सकेको छैन् ।