सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक हवल्दार पन्च बहादुर राई र सल्लेरीका दावा शेर्पाले रक्तदान गरि एक किशोरीका ज्यान बचाएका छन् ।
रगत अभावका कारण समस्यामा परेका सोलुदुधकुण्ड नगरपालिका–७ नाजिङकी १६ वर्षीया सुलोचना विश्वकर्मालाई राई र शेर्पाले आज शुक्रबार रगत दान गरि ज्यान बचाएका हुन् ।
‘रक्तदान जीवन दान’ सरह भएको भन्दै जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरी र दुधकुण्ड युथ क्लबका अध्यक्ष छितिज तामाङको विशेष पहलमा किशोरीलाई रगत उपलब्ध गराइएको बिरामीका बुवा बुद्धि बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी निरीक्षक गिरीले प्रहरी सहायक हवल्दार राईको र अध्यक्ष तामाङले क्लब मार्फत शेर्पाको एक एक पाउण्ड रगत उपलब्ध गराइएको हो । जिल्ला अस्पताल फाप्लुमा पुगेर प्रदान गरिएको उक्त बी पोजेटिभ रगत बिरामीलाई चडाइएको छ । क्लवका तर्फबाट रक्तदान गर्ने शेर्पालाई क्लवका अध्यक्ष तामाङले अस्पतालमै प्रमाण पत्रसहित धन्यवाद ज्ञापन गरेको छ ।
जिल्लामा रगत उपलब्ध नभएको भए छोरीको स्वास्थ्यमा जटिलता आउन सक्ने किशोरीका बु्वा विश्वकर्माले बताउनुभयो । सेवा नै धर्म हो भन्ने हेतुका साथ शेर्पा र राईले सहज रुपमा बी पोजेटिभ रगत दान गरेको उहाँको भनाइ छ । किशोरीको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।