सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको गार्मा वडा कार्यालयले काठमाडौँबाट सेवा प्रदान गरेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा कार्यालयले यहि साउन १४ र १५ गते काठमाडौँबाट सेवा प्रदान गरेको हो ।
संघीय राजधानीमा अस्थायी बसोबास गर्दै आएका वडाका नागरिकको सेवाका लागि गार्माले काठमाडौँमा आयोजना गरेको सेवा प्रवाह शिविरबाट २ सय ४३ जना वडाका नागरिक लाभान्वित भएका छन् ।
शिविरबाट पञ्जिकरण २९, सिफारिस ११, सामाजिक सुरक्षा भत्ता नयाँ तथा नविकरण ६७ र मालपोत भुमिकर संकलन १३६ जनाको गरिएको छ ।
उक्त शिविरबाट ७० हजार २ सय ६० रुपैयाँ राजस्व समेत संकलन गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आर्थिक वर्षको शुरुकै महिनामा शिविरको आयोजना गरिएकाले काठमाडौँमा रहने गार्माबासी प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
। यस शिविरको प्रभावकारीताबाट आगामी वर्षमा पनि यस्ता शिविरलाई निरन्तरता दिने निष्कर्षमा आफूहरु पुगेको उहाँको भनाई छ । शिविरमा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, वडा सदस्य भलाकाजी कार्की र वडासचिव मिंमार डोमा शेर्पा खटिनु भएको थियो ।