सोलुखुम्बुमा एक वर्षमा झण्डै ५ लाख क्युविक फिट काठ उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा सोलुखुम्बुमा ४ लाख ९४ हजार ८ सय ३८.६७ क्युविक फिट काठ निकासी भएको हो ।
डिभिजन वन कार्यालय सोलुखुम्बु अनुसार निजी वनबाट उक्त परिमाण बराबरको गोलिया काठ निकासी भएको हो । उक्त निकासी भएको काठ ९० प्रतिशत उत्तिस र बाँकी १० प्रतिशत सल्लाको रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका सुचना अधिकारी मनराज राईले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० का तुलनामा आर्थिक वर्ष २०८०/८१ मा दोब्बर भन्दा धेरैले काठ उत्पादनमा वृद्वी समेत भएको राईको भनाइ छ ।
उहाँका अनुसार २०७९/८० मा २ लाख ६ हजार ४७.४३ क्युविक फिट काठ उत्पादन गरिएकोमा २०८०/८१ मा उत्पादन बढेर ४ लाख ९४ हजार ८ सय ३८.६७ क्युविक फिट काठ उत्पादन भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा डिभिजन वन कार्यालय सोलुखुम्बुमा १ करोड ९९ लाख ४ हजार ५ सय ५८ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी राईले बताउनुभयो । –फायल फाटो