पाण्डे समूहले गर्‍यो टान निर्वाचनको २२ बुंदे प्रतिबद्धता सार्बजनिक

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि चुनावी मैदानमा उत्रिएको सागर पाण्डे नेतृत्वको प्यानलले आफ्ना एजेन्डा सार्बजनिक गरेको छ ।

१७ गते हुने निर्बाचनका लागि उम्मेदवारी दर्ता गराएपछि विहिबार अपरान्ह राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी पाण्डे समूहले २२ बुँदे घोषणापत्र सार्बजनिक गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो समूह जुझारु र व्यवसायीक रहेको बताउनु भएको छ । आफूहरुले सार्वजनिक गरेको कसैले लेखि पठाएको वा घोकेर नआएको भन्दै ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा घोषणापत्र तयार पारेको बताउनुभयो ।

पाण्डे समूहले घोषणा पत्रमा ट्रकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, कर सम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणा पत्रमा जनाइएको छ ।

पाण्डे समूहले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ ।

नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डे प्यानलको घोषणा पत्रमा उल्लेख छ ।

यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफू ३० वर्ष देखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको दावी गर्नुभयो ।

उहाँले आफ्नो समूहका अन्य उम्मेदवारहरु पनि सोही प्रकारको व्यवसायमा दक्षता हासिल गरेका र अनुभवी रहेको बताउनु भएको छ । पाण्डे समूहले आफूहरुलाई व्यवसायीक र समावेशी समूह भएको समेत दावी गरेको छ ।

हाम्रो उम्मेद्वारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा भएकाले कुनै राजनीतिक दलको सम्झौतामा नबाँधिएको उहाँको भनाइ छ । विपक्षीको समूहका उम्मेद्वारहरु व्यवसाय भन्दा पनि राजनीतिबाट प्रेरित रहेको पाण्डेको भनाई छ ।

पत्रकारसंग प्रश्नोत्तरमा अध्यक्ष पाण्डेले टानको निर्वाचन खर्चिलो भएको अनुभुती सबै पर्यटन व्यवसायीहरुले गरिरहेकोले टान निर्वाचनलाई मितव्ययी बनाउन एजेण्डा नै बनाएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार