सोलुखुम्बु । खोटाङको बराहपोखरी गाउँपालिका ६ नम्बर वडा कार्यालय मौवाबोटे भवनको उद्वाटन गरिएको छ । आज शुक्रबार उक्त वडा कार्यालयको नवनिर्मित २ तले पक्की प्रशासनिक भवनको उद्वाटन गरिएको हो ।
शुक्रबार गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले पानसमा बत्ती बालेर वडा कार्यालय भवनको उद्वाटन गर्नुभएको हो । स्थानीय तह आएको झण्डै ८ वर्षपछि मौवाबोटे वडाले सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्न लागेको छ ।
२०७३ सालमा बराहपोखरी गाउँपालिका स्थापना भए पछि तत्कालिन गाउँ विकास समितिको भवनबाट मौवाबोटे वडाले सेवा प्रवाह गर्न सुरु गरेको थियो ।
आर्थिक वर्ष २०८०\८१ मा पालिकाबाट प्राप्त ४५ लाखमा मिटिङ हल सहितको ५ कोठे २ तले पक्की भवन निर्माण गरिएको मौवाबोटेका वडा अध्यक्ष दुर्गा बहादुर राईले बताउनुभयो ।
नयाँ भवन भएसँगै जनतालाई सेवा प्रदान गर्न थप सहज हुने वडाध्यक्ष राईको भनाइ छ । अन्य वडाले भने सुविधा सम्पन्न पक्की भवन निमार्ण गरी सेवा प्रदान गरिरहेका छन् ।
६ वडा रहेको बराहपोखरी गाउँपालिकाको ४ नम्बर वडा कार्यालय फाक्टाङको भने पक्की भवन निमार्ण गर्न बाँकी रहेको छ ।
भवन निमार्णको काम समयमा सम्पन्न गर्न अहोरात्र खट्ने वडाध्यक्ष, सदस्यहरु, निर्माण समिति र सम्पुर्ण वडाबासिहरुलाई धन्यबाद दिदै बाँकी रहेका अन्य समस्याको पहिचान गरी आगामी दिनमा पुरा गर्ने पालिका अध्यक्ष बन्जराले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
भवन उद्वाटन कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहको थियो ।