सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय स्थल थामेका बाढी प्रभावितका लागि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ७ करोड बढी रकम विनियोजन गरेको छ । आज सोमबार पालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाको अध्यक्षतामा बसेको गाउँ सभाको विशेष अधिवेशनबाट बाढी पीडितका लागि ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरिएको हो ।
जसमा सार्वजनिक पूर्वाधार पुननिर्माणका लागि ३ करोड ४० लाख, बाढी पिडितहरुको पुनस्थापना तथा पुननिमार्णका लागि २ करोड ६० लाख र विपत जोखिम अध्ययन अनुसन्धानका लागि ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।
यस्तै खुम्बु बिजुली कम्पनी पुननिमार्ण सहयोगका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो ।
गत साउन ३२ गते आएको बाढीले खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ स्थित थामे गाउँमा ठुलो क्षति पुगेको थियो । बाढीका कारण थामेका करिब २० घर बगाएको थियो भने स्थानीय विद्युतमा समेत क्षति पुगेको थियो ।