सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले सुरु गर्‍यो दन्त सेवा

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले दन्त सेवा सुरु गरेको छ । अस्पतालले आज मंगलवारबाट अत्याधुनिक सुविधासहित दन्त सेवाको शुभारम्भ गरेको हो । उक्त सेवाको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङले उद्घाटन गर्नुभयो ।

अस्पताल विकास समितिले सुरु गरेको उक्त दन्त सेवाको उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख निरौलाले गुणस्तरिय दन्त सेवामा ख्याल गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

जिल्लावासीहरुलाई सरकारी स्तरबाटै दन्त सेवा प्राप्त हुनु खुसीको कुरा भएकाले गुणस्तर र भरपर्दो सेवामा कुनै कन्जुस्याइ नगर्न उहाँले आग्रह गर्नुभयो । जसका लागि आवश्यक सहयोग र समन्वयमा आफुहरु सधै तत्पर रहेको समेत प्रमुख निरौलाको भनाइ छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिका–४ का वडाध्यक्ष युवास तामाङले जिल्ला अस्पताल आफैले दन्त सेवा सुरु गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । फाप्लु अस्पताल प्रदेश मातहतको भएपनि यसलाई स्थानीय सरकारले पनि उत्तिकै महत्व र प्राथमिकताका साथ काम गरेको वडाध्यक्ष तामाङको भनाइ छ ।

अस्पतालका निमित्त प्रमुख डा. प्रसान्त कुमार शाहले सिमित श्रोत साधनका बावजुत पनि नागरिकलाई सहज रुपमा दन्त सेवा उपलब्ध गराउने सेवा विस्तार गरिएको बताउनुभयो ।

जिल्ला अस्पताल आफैँले दन्त सेवा सुरु गर्ने योजना लामो समयदेखिएको भएपनि यस पटक शुभारम्भ गर्न सफल भएको भन्दै सम्बद्ध सबै पक्षलाई उहाँले धन्यवाद दिनुभयो ।

दन्त सेवाका डेण्टल सर्जन डा. अनिल कुमार सार्कीले जटिल प्रकृतिका दातको समस्या बाहेक अन्य सबै दन्त सेवाहरु फाप्लु अस्पतालबाटै प्रवाह हुने बताउनुभयो । जसलाई छिटो छरितो र भरपर्दो बनाउन आफु सक्दो लागि पर्ने उहाँले बताउनुभयो ।

दन्त सेवा उद्घाटनको अवसरमा एक हप्तासम्म दाँत सम्बन्धी ओपिडी सेवा निशुल्क गरेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

यससँगै कोशी प्रदेशका १४ वटै जिल्ला अस्पतालमा दन्त सेवा सञ्चालनमा आएको छ । यस अघि सोलुखुम्बु बाहेक अन्य १३ वटा जिल्लाका अस्पतालहरुमा दन्त सेवा रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार