सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले थामे बाढी पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिका बैठले रु.५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका मार्फत उक्त रकम हस्तान्तरण हुनेछ । विपद्मा परेकाहरुलाई सहयोग गर्नु मानवीय धर्म भएकाले गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको पालिका अध्यक्ष असिम राईको भनाइ छ ।
यस्तै सोही बैठकले थुलुङ दुधकोशी गाउँपालिकाका कर्मचारीहरूको मुख्य नतिजामा आधारित कार्य विवरण प्रतिवेदन, २०८१ तर्जुमा भई स्वीकृत गरेको छ ।
थुलुङ दुधकोशी गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १८ लाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आज बुधबार बसेको कार्यपालिकाको निर्णयानुसार गाउँपालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत प्रशन्न दीप राईबीच कार्यसम्पादन सम्झौता भइसकेको छ ।
सबै विभाग, महाशाखा, शाखा तथा वडाबाट थप प्रभावकारी सेवा प्रवाह गर्न र कर्मचारीहरूलाई थप जिम्मेवार बनाउन शाखा प्रमुख लगायत अन्य कर्मचारी र प्रशासकीय अधिकृतबीचको कार्य सम्पादन सम्झौता गर्न गाउँपालिका अध्यक्षको निर्देशन दिनुभएको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले बताउँनुभयो ।