सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अन्तरगतका विद्यालयको सिकाइ उपलब्धी गत वर्ष भन्दा ४.४४ प्रतिशतले वृद्धि भएको छ । शिक्षा क्षेत्रमा लामो समय देखि जिल्लामा रहेर काम गरिरहेको रिड नेपालको तथ्याङ्क अनुसार गत वर्ष ५८.३२ रहेको सिकाइ उपलब्धी यो वर्ष वृद्धि भएर ६२.७६ पुगेको हो ।
आर्थिक वर्ष २०८० / २०८१ मा संचालित शैक्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष तथा पालिका परियोजना सल्लाहाकार समिति अध्यक्ष असिम राईको अध्यक्षतामा आयोजित कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गत वर्षका गतिविधि उपलब्धी, तथ्यांक विश्लेषण, बजेट र खर्च प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले रीड नेपाल पालिकाको शैशिक सहयात्रीको रुपमा रहेको भन्दै रीडको कार्यको खुलेर प्रसंसा गर्नु भयो । आफ्नो पहिलो सरोकारको रुपमा शिक्षा रहेको बताउदै उहाँले शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि आफ्नो तर्फबाट कुनै पनि कमी हुन नदिने बताउनुभयो ।
यस्तै रिड नेपाल संगको सहकार्यमा पालिका भित्रका ५१ ओटै विद्यालयको प्रोफाइल निर्माण गर्न आवश्यक बजेट व्यबस्था गर्ने अध्यक्ष राईले बताउँनुभयो ।
यस्तै संयुक्त अनुगमन, शिक्षक डायरी, विद्याथी सिकाइ मूल्यांकनको प्रयोग अभिभावक अभिमुखीकरण तथा तालिम लगाएतका कार्यक्रमहरु संचालन गर्न शिक्षा शाखालाई निर्देशन दिदै आवश्यक बजेट व्यबस्था हुने बताउनुभयो ।
कार्यक्रममा पालिका उप प्रमुख सबिता राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राई, स्थानीय स्रोत शिक्षक र शाखा प्रमुख हरुको उपस्थित्ति रहेको थियो ।