सोलुखुम्बु । सोलुखुम्बुको गार्मा सञ्चालित प्रथम वडा अध्यक्ष भलिवल प्रतियोगिताको उपाधी नेचासल्यान २ ले हात पारेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ वडा कार्यालयले आयोजना गरेको जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधी नेचासल्यान गाउँपालिका २ ले हात पारेको हो ।
आज आइतबार भएको फाइनल खेलमा नेचासल्यान २ ले लिखुपिके २ लाई हराउदै उपाधी जित्न सफल भएको हो ।नेचासल्यान २ ले नगद १ लाख १ हजार १ सय रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
यस्तै दोश्रो भएको लिखुपिके २ ले नगद ७५ हजार १ सय, तेस्रो भएको सोताङ ३ ले नगद ५० हजार १ सय र सान्त्वना भएको आयोजक रातोले नगद २५ हजार १ सयका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो ।
यस्तै विधागत पुरस्कार तर्फ उत्कृष्ट सेटर रुपेश बस्नेत, नव उदयमान खेलाडीमा भुपेन्द्र बस्नेत, उत्कृष्ट डिफेन्डर तारा बहादुर खत्री (मिलन) घोषित हुनुभएको छ ।
यस्तै उत्कृष्ट स्पाईकर भोज विक्रम बस्नेत, उत्कृष्ट बलकर हिमाल बस्नेत, उत्कृष्ट सर्भर र सर्वोउत्कृष्ट खेलाडीको विधागत पुरस्कार विष्णु बस्नेतले हात पार्नु भएको छ ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारको साथमा ट्रफी र प्रमाण–पत्र तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेन्टर र नव उदयमान खेलाडीलाई नगद २/२ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले बताउनुभयो ।
सोलुदुधकुण्ड नगरपालिका ७ नम्बर वडा कार्यालय गार्माले आयोजना गरेको जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड भलिवल प्रतियोगितामा २५ टिमले सहभागी जनाएको आयोजकले जनाएको छ ।