सोलुखुम्बु । पर्यटनको सिजन सुरु भएसँगै लुक्लामा शरदकालीन उडान थप भएको छ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु भ्रमण सिजनको सुरु भएसँगै रामेछापको मन्थलीदेखी उडान सुरु भएको हो ।
नेपालकै सबैभन्दा ठुलो पदयात्रा (ट्रेकिङ) गन्तव्यको रूपमा रहेको एभरेस्ट बेस क्याम्प (सगरमाथा आधार शिविर) सम्म जाने पर्यटकका लागि हवाई उडान सुरु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शनिबारदेखि तीन एयरलाइन्स कम्पनीका ६ वटा जहाजलाई रामेछापको मन्थलीदेखि सोलुखुम्बुको लुक्ला तथा फाप्लु विमानस्थलमा उडान भर्न औपचारिक रूपमा अनुमति दिएको हो ।
उडानको औपचारिक सुरुवात हुनु एक साताअघि अर्थात् सेप्टेम्बर १६ (भदौ ३१ गते) देखि ती विमानहरूले पूर्वतयारी उडान गर्दै आएका थिए ।
शनिबारदेखि भने औपचारिक रूपमै उडान सुरु भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । योसँगै सगरमाथा आधार शिविर सम्मको शरदकालीन पदयात्रा समेत सुरु भएको छ ।
मन्थलीदेखि लुक्ला तथा फाप्लु विमानस्थल सम्मको उडानका लागि सीता एयर, समिट एयर र तारा एयरका दुई÷दुई वटा विमानले अनुमति पाएका छन् ।
छोटो दूरीमा उडान गर्ने एयरलाइन्स कम्पनीमध्ये अहिले समिट एयरलाइन्ससँग चार वटा जहाज छन् । त्यसमध्ये एउटा–एउटा जहाज नेपालगन्ज र धनगढीबाट पहाडी जिल्लाहरूमा उडान गर्छन् ।
एउटा जहाजले पोखरा विमानस्थलबाट उडान गर्छ भने दुई वटा जहाज काठमाडौँबाट उडान गर्ने गरेका छन् । काठमाडौँबाट उडान गर्ने जहाजलाई अहिले मन्थली पठाइएको हो ।
तारा एयरलाइन्ससँग अहिले तीन वटा जहाज छन् । यसमध्ये एउटाले पोखरा र नेपालगन्जबाट पहाडी गन्तव्यहरूमा उडान गर्छ । एक सातामा पोखराबाट पाँच दिन र नेपालगन्जबाट २ दिन उडान गर्नेगरी सेड्युल गरिएको प्राधिकरणले जनाएको छ । बाँकी दुई जहाज लुक्ला उडानमा खटिएका छन् ।
त्यस्तै सीता एयरलाइन्ससँग पनि तीन वटा जहाज रहेकोमा अहिले दुई वटा जहाजले मात्रै उडान गरिरहेका छन् । यी जहाजहरू हप्ताको २ दिन नेपालगन्जबाट र बाँकी दिन काठमाडौँबाट उडान गर्दै आएका छन् ।
नेपालगन्जबाट हुने उडानलाई यथावत् राखेर काठमाडौँबाट हुने उडानलाई मन्थलीमा सारिएको छ । अब सीताका दुई जहाजले पनि लुक्लाका लागि सेवा दिनेछन् ।
यी तीनवटै कम्पनीका ६ वटा जहाजले लुक्लाको लागि उडान भर्ने प्राधिकरणले जनाएको छ । हप्तामा दुई दिन भने चार वटा जहाजले उडान भर्नेछन् ।
काठमाडौँ विमानस्थलको हवाई चापका कारण प्राधिकरणले लुक्ला वा फाप्लु विमानस्थल सम्मको उडानलाई मन्थलीमा सारेको हो ।