सोलुखुम्बु । सोलुखुम्बुबाट काठमाण्डौँका लागि सहुलियतदरमा सिधा बस सेवा सञ्चालन हुने भएको छ । हिमाल तराई यातायातद्वारा संचालित श्री उग्र चण्डी यातयात प्रालिले भोलीबाट सल्लेरीदेखि कटारी, हेटौँडा हुँदै काठमाण्डौँसम्म सिधा बस सेवा सञ्चालन गर्ने भएको हो ।
गत शनिवारको बाढीले विपि राजमार्ग अन्र्तगत नेपालथोकसहितका स्थानका पक्की सडकहरु क्षतिग्रस्त भएकाले सो क्षेत्रबाट सिधा यातयात सेवा ठप्प बनेको छ । जसका कारण काठमाण्डौँबाट सोलुखुम्बु, ओखलढुंगा तथा खोटाङसहितका जिल्ला आवतजावतमा समस्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वयमा उक्त समितिले सल्लेरीबाट कटारी, मदनलोकमार्ग, भिमान, हेटौँडा, नारायणघाट हुँदै काठमाण्डौँसम्मको सिधा बस सेवा सञ्चालन गर्ने भएको हो ।
बाटो घुमाउरो पर्ने भएकाले प्रति यात्रु ३ हजार रुपैयाँ भाडा निर्धारण गरिएको सल्लेरीका काण्उण्टर इन्चार्ज लोक बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सल्लेरीबाट करिब १६ घण्टाको बस यात्रापछि काठमाण्डौँ पुग्ने छ । दशैँ लगायतका ठुला चाडपर्वको मुखैमा विपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका थिए ।
जसलाई मध्येनजर गर्दै बैकल्पिक रुपमा सोलु-काठमाण्डौ र काठमाण्डौँ-सोलु बस सेवा सुचारु गर्न लागिएको बताइएको छ ।
सोलुको सल्लेरीबाट र काठमाण्डौँको चाबाहिलबाट हरेक दिनको ठिक ६ बजे बस छुट्ने व्यवस्था मिलाइएको श्री उग्र चण्डी यातयात प्रालिले जनाएको छ ।