सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ठेउला अर्थात चिकेनपक्सको बिरामीको संख्या बढेको छ । जिल्लाका बालबालिकाहरुमा ठेउलाको समस्या बढी देखिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।
अस्पातलका डाक्टर कविन्द्र राईका अनुसार जिल्ला अस्पतालमा पछिल्लो करिब ३ साता यता दैनिक रुपमा यस्ता समस्या लिएर आउने बालबालिकाको संख्या बढिरहेको छ । यस रोगमा शरिर भरको छालामा पानी फोका आउने, ज्वरो आउने र पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने डा. राईको भनाइ छ ।
यस्तो अवस्थामा बिरामीलाई तातो तथा झोलिलो खानेकुरा, सागसब्जी खुवाउने तथा आराम गराउनुपर्ने डा. राईले सुझाव दिनुभयो । कतिपय अवस्थामा जटिलता समेत देखिने भएकाले यस्तो समस्य देखिए चिकित्सक कहाँ जान उहाँले सुुझाव दिनुभयो ।
यो स्वासप्रस्वासको माध्यमबाट एकबाट अर्कामा सर्ने भएकाले ठेउला(चिकेनपक्स) भएका बिरामीले माक्सको प्रयोग गर्न तथा सावधानी अपनाउन चिकित्सकको सुझाव छ । छालामा सुरुमा पानी कटिरा आउने र विस्तारै बढ्दै जाँदा घाउ समेत हुने गरेको बताइएको छ ।
जसले गर्दा उच्च ज्वरो आउने, पखाला समेत लाग्ने गरेको डाक्टरले बताएका छन् । बालबालिकामा धेरै देखा परेको यो रोग अन्य व्बयस्क तथा बृद्धबृद्धाहरुलाई पनि फाट्टफुट्ट देखा परिरहेको जिल्ला अस्पतालले जनाएको छ ।