सोलुखुम्बु, मंसिर ६ गते । हिमाली जिल्ला सोलुखुम्बुमा अपाङ्गता रोगथाम तथा पुनः स्थापना कार्यक्रम संचालन प्रकियाका लागि अन्तरक्रिया गरिएको छ । आज बिहिबार जिल्लाको सदरमुकाम सल्लेरी स्थित एक होटलमा करुणा नेपाल फाउण्डेशन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पालिका स्तरमा संचालन भइरहेको अपाङ्गता रोगथाम तथा पुनः स्थापना कार्यक्रमलाई प्रभावकारी बनाउन, अपाङ्गता भएका व्याक्तिहरुको जिवनमा गुणस्तरसँगै परिवर्तन ल्याउनको लागि स्वास्थ्य, शिक्षा, लगाएत जिविको पार्जनका लागि विभिन्न कृयाकलाप गरि उनिहरुको जिवनका सुधार ल्याउन अन्तरकृया गरिएको करुणा फाउन्डेशनका संयुक्त जिल्ला कार्यालय ओखलढुंगाका प्रमुख जनार्दन सुवेदीले बताउनुभयो ।
कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री बुद्धि कुमार राज भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को माघ महिनादेखी सुरु गरिएको कार्यक्रमको खर्च भने थोरै मात्रै भएको देखिएकाले आगामी दिनमा शत प्रतिशत बजेट खर्च गरेर उपलब्धी हासिल गर्न सुझाव दिइएको छ ।
सोलुखुम्बु जिल्लाको ८ वटै स्थानीय तहमा काम गर्दै आएको करुणा फाउण्डेशन नेपालले स्थानीय तह, कोशी प्रदेश सरकारको ३३ /३३ प्रतिशत लागत साझेदारीमा काम गर्दै आएको छ ।
अपाङ्गता रोकथाम अन्तरगतका कार्यक्रमहरु, फोलिक एसीड वितरण, जन्मजात र जन्म पश्चात हुने अपाङ्गता, समुदाय स्तरमा यसको जानकारी पुर्याउने साथै अपाङ्गता भएका व्याक्तिहरुलाई चाहिने आवश्यक सामाग्री समयमै उपलब्ध गराउनु पर्ने उपस्थित भएका व्यक्तिहरुले धारणा राखेका थिए ।
यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी आत्मानिर्भर बनाउन सकिन्छ भनेर समेत ध्यान दिनुपर्ने उनीहरुको भनाइ रहेको थियो । करुणा फाउण्डेशन नेपालले कोशी प्रदेशका १४ वटै जिल्लाका १ सय ३७ वटै पालिकामा काम गरिरहेको छ ।
जसमध्ये सोलुखुम्बु,ओखलढंगा, उदयपुर र खोटाङ जिल्लाका लागि भने ओखलढुंगामा संयुक्त कार्यालय स्थापना गरेर काम गरिरहेको बताइएको छ ।