सोलुखुम्बु, मङ्सिर १३ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिके डाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले ठूलो सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र एनसेलको सेवा नपुग्नुले यी क्षेत्रमा सञ्चार सेवामा समस्या भएको हो ।
जसका कारण यहाँ पुग्ने धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकहरु सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिके डाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।
पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना
पिके डाँडा समुद्री सतहदेखि ४,०६५ मिटर उचाइमा रहेको पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयु लगायतका हिमालहरूको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ ।
साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीहरुले सिजनमा पिके पिक ट्रेक समेत सञ्चालन गर्ने गरेका छन् ।
पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार, पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । “सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ । तर, सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ,” शेर्पाले भन्नुभयो ।
सञ्चारमै चुनौती
सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्याले खल्लो बनाएको स्थानीय होटल व्यवसायी गेलु शेर्पाले बताउनुभयो । “कतिपय अवलोकनकर्ताहरु भ्रमणको क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेको छ, फोन गर्दा फोन लाग्दैन अनि हराएपछि बाटो भुल्ने भएकाले समस्या छ ।” शेर्पाले भन्नुभयो ।
पाँच वर्ष अघि सल्लेरीका एक युवक पुर्ण बहादुर खड्काको पिके डाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । पिके डाँडाबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटना स्थलमै मृत्यु भएको थियो । खड्कालाई सम्पर्क गर्ने प्रयास गरिएपनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलीपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उनको शव भेटिएको थियो ।
यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा विचल्ली हुने घटना सामान्य जस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिके डाँडा क्षेत्र पुग्दा पुर्ण रुपमा नै विच्छेद हुने गरेको उहाँको भनाइ छ । पिके भन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँमा समेत सञ्चार सेवा कम्जोर भएकाले पिकेमा झनै बढी सास्ती खेप्नुपरेको स्थानीय बताउछन् ।
धार्मिक आस्थाको केन्द्र : ज्वालामाई मन्दिर
सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर सोलुखुम्बुको प्रमुख धार्मिक स्थल हो । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् । काठमाडौँ, पोखरा, चितवन र पश्चिम नेपालका विभिन्न भागबाट भक्तजनहरू यहाँ पुग्ने गरेका छन् ।
तर, धार्मिक महत्व बोकेको यस क्षेत्रमा समेत भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनहरूलाई समस्या परेको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य भिम नारायण श्रेष्ठले भन्नुभयो, “मन्दिरमा आउने भक्तजनहरूले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।”
जिल्लाको प्रसिद्ध धार्मिक स्थल र पर्यटकीय स्थल समेत यही क्षेत्रमा पर्ने भएकाले यहाँको सेवालाई महत्वका साथ हेरिन्छ । तर सदरमुकाम सल्लेरीसँग जोडिएको वडा तामाखानीमा मोबाइल नेटवर्क भरपर्दो नहुँदा त्यहाँ पुग्ने धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकहरुमा नकरात्मक छाप पर्न जाने स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रमा सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने पुरानो बाध्यता अहिले पनि जिवित रहेको स्थानीय बताउछन ।
स्थानीय समुदायको गुनासो
सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले कमजोर सञ्चार सेवाको उपेक्षाको उदाहरण भएको बताएका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरका अनुसार, “यो क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त छ । तर, मोबाइल नेटवर्कको दयनीय अवस्थाले स्थानीय र पर्यटकलाई समान रूपमा सास्ती दिएको छ ।”
समुदायका बासिन्दाहरूका अनुसार, सञ्चार सेवाको अभावले पर्यटकको मात्र होइन, स्थानीय जीवनशैलीमा समेत नकारात्मक असर पारेको छ । स्थानीय बासिन्दा बाबुराम घिमिरेले भन्नुभयो, “सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो । तर, यहाँ यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरेसँग नजिक भए पनि यो क्षेत्र अझै डिजिटल युगको उपभोगमा कम्जोर छ ।”
स्थानीयको असन्तोष
नेपाल टेलिकम शाखा कार्यालय ओखलढुंगाका प्रमुख राजु रानाका अनुसार, सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधान गर्ने प्रयास भए पनि यो पर्याप्त भएन । “पिके डाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकासको प्रक्रिया अघि बढाउनुको विकल्प छैन ।,” रानाले भन्नुभयो ।
तर, वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्नुहुन्छ । “पर्यटकीय र धार्मिक महत्त्व बोकेको क्षेत्रमा भरपर्दो सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ ।”उहाँले भन्नुभयो । पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य आवश्यकता भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफु सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । पर्यटन व्यवसायी दावा शेर्पाका अनुसार, “पिके डाँडा पर्यटनका लागि स्वर्ग हो, तर सञ्चार सेवाका लागि अभिशाप बनेको छ । यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवा आधारभूत आवश्यकता हो ।”
सञ्चार सेवाको सुधारले न केवल पर्यटकलाई थप सुविधा प्रदान गर्नेछ, तर यसले स्थानीय समुदायलाई पनि आर्थिक लाभ पु¥याउने छ । यस क्षेत्रमा सञ्चार सुविधा पुगेपछि पर्यटनको प्रवर्द्धन र व्यवस्थापन थप प्रभावकारी हुने जानकारहरूको विश्वास छ ।
पिके डाँडा र ज्वालामाई मन्दिर क्षेत्रको पर्यटन र धार्मिक यात्रामा सञ्चार सेवाको अभाव गम्भीर चुनौती बनेको छ । स्थानीय बासिन्दा, व्यवसायी, र पर्यटकहरूको आवाज राज्य र सञ्चार सेवा प्रदायक कम्पनीहरूले सुन्नुपर्ने बेला आएको छ ।
पिके डाँडा र ज्वालामाई क्षेत्रको पर्यटन र धार्मिक सम्भावनालाई प्रोत्साहन गर्न भरपर्दो सञ्चार सेवा उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने स्थानीय जानकारहरुको सुझाव छ । भरपर्दो नेटवर्कको स्थापनाले पिके डाँडा र ज्वालामाई क्षेत्रलाई अझ प्रभावकारी र समृद्ध गन्तव्यमा रूपान्तरण गर्न सहयोग पुग्ने स्थानीयको विश्वास छ ।