सोलुखुम्बु, मङसिर १४ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको सारेलुकीचौर बस्ती अहिले विशाल पहिरोको चपेटामा परेको छ । सुख्खा मौसममा समेत निरन्तर रूपमा बगिरहेको पहिरोले गाउँलाई नै जोखिममा पारेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब ५०० मिटर लामो यो पहिरो बस्ती तर्फ तीव्र गतिमा सर्दैछ ।
जसका कारण स्थानीयदेखि सरकारी स्तरसम्मलाई झस्काएको छ । स्थानीय बासिन्दा चित्रकुमारी कार्कीका अनुसार जलविद्युत् आयोजनाको निर्माण क्रममा निस्किएको माटो अनियन्त्रित रुपमा थुपारिँदा पहिरो सुरु भएको हो । “पहिरोले हाम्रो बस्ती र जग्गा दुवै जोखिममा पारेको छ,” उहाँले भन्नुभयो । यस क्षेत्रमा ३० वर्षअघि पनि पहिरो गएको स्मरण गराउँदै, अहिले फेरि पहिरोले गाउँमा ठूलो त्रास फैलाएको स्थानीय जानकार तेजबहादुर कार्कीले बताउनुभयो ।
सुख्खा समयमा समेत पहिरो गएकोले समस्या थप गम्भीर बनेको छ । पहिरोका कारण त्यस भन्दा माथि रहेको झण्डै १०० घरधुरी जोखिममा रहेको सोलुदुधकुण्ड नगरपालिका–११ का वडाध्यक्ष टङ्क बहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिउँदमा समयमा समेत तिब्र रुपमा फैलिरहेको यो पहिरोले गाउँ जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घर जोखिममा छ, पहिरो निक्कै डरलाग्दो तवरले विस्तार भइरहेको छ ।”
तीन दशकअघि पनि सोही क्षेत्रमा पहिरो गएको स्मरण गर्दै अहिलेको पहिरो झनै खतरनाक र तीव्र भएको बताएका छन् । स्थानीय भन्छन् , “पहिले वर्षातको समयमा मात्रै पहिरो देखिन्थ्यो । तर, अहिले सुख्खा मौसममै बगिरहेको छ । यो स्थिति निकै गम्भीर छ ।”
१०० घरधुरी उच्च जोखिममा, स्थानीयको रुवाबासी
पहिरोले झण्डै १०० घरधुरीलाई प्रत्यक्षरूपमा जोखिममा पारेको छ । वडाध्यक्ष टंकबहादुर कार्कीका अनुसार पहिरोको गति यो गतिमा बढ्दै गएमा करिब सय घर विस्थापनको अवस्थासम्म पुग्न सक्छ । “हिउँदे समयमा यति तीव्र गतिमा फैलिएको पहिरो पहिलोपटक देखिएको हो । यसले हाम्रो बस्तीको अस्तित्वलाई नै चुनौती दिएको छ ।” उहाँले भन्नुभयो ।
पहिरोको निरन्तर गतिका कारण स्थानीयवासीको दैनिकीमा समेत प्रभाव परेको छ । “अब राति निन्द्रा लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहेको छ, बाउबाजेदेखिको सम्पती भनेको यही जग्गाबारी थियो, अब घरबारी केही नरहने भयो, यो बुढेस्कालमा कस्तो ठुलो समस्या आइ लाग्यो ।” स्थानीय वृद्धा चित्र कुमारी बस्नेतले गहभरी आशु पार्दै भन्नुभयो ।
करिब ३० वर्ष अघि सामान्य रुपमा सुरु भएको पहिरो यही मंसिर १२ गतेबाट झण्डै ५०० मिटरको फराकिलो भएर फैलिएको अर्को स्थानीय तेज बहादुर कार्कीले बताउनुभयो । विगतमा सामान्य तवरबाट सुरु भएको पहिरोले अहिले बस्ती तर्फ नै फैलिएपछि स्थानीयलाई बस्ती जोगाउने चिन्ताले सताउन थालेको छ ।
पहिरोले उतिसको जङ्गलसहित गोरोटो बाटो समेत बगाएर सोलुखोलामा झारेको छ भने त्यस भन्दा माथिको खेतीयोग्य बारी चिराचिरा परेको छ । सर्दै गएको पहिरो बस्ती नजिकको सडकमा पुगेकाले गाउँ जोगाउन सकस परेको स्थानीयबासी बताउछन् ।
सरकारी टोलीको स्थलगत निरीक्षण
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोजकुमार घिमिरेको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । टोलीले आज शुक्रबार स्थानीयसँग छलफल गर्दै पहिरोको वास्तविकता बुझ्न प्रयास गरेको छ ।
प्रजिअ घिमिरेले घटनास्थलबाटै फोनमार्फत सोलुखुम्बु जलश्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय र ओखलढुंगाको भू–जलधार संरक्षण कार्यालयका विज्ञहरुलाई तत्काल घटनास्थलमा पठाउन निर्देशन दिनुभएको छ ।
“पहिरो रोकथामका लागि विज्ञ टोलीको अध्ययन आवश्यक छ । तर, हामीले नागरिकको सुरक्षा पहिलो प्राथमिकतामा राख्दै आवश्यक कदम चाल्नेछौं, पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौ ।” घिमिरेले बताउनुभयो ।
विज्ञसहितको टोली घटनास्थल पुगेर अध्ययन परेपछि लगत्तै रोकथोमको उपया खोजी गरिने उहाँले बताउनुभयो । यद्यपि पहिरोको क्षेत्र विशाल रहेकाले ठुलो धनराशी खर्च हुने निश्चित देखिएको प्रजिअ घिमिरेको भनाइ छ ।
सरकारी प्रयासः तत्काल र दीर्घकालीन समाधानको खोजी
प्रजिअ घिमिरेले नागरिकको जिउधनको सुरक्षाका लागि राज्य कुनै पनि कदम चाल्न पछि नपर्ने बताउनुभएको छ । उहाँका अनुसार, रोकथामका लागि तत्काल ठोस योजना बनाउन विज्ञ टोलीलाई निर्देशन दिइएको छ ।
यद्यपि, पहिरोको तीव्र गतिले स्थानीय प्रशासनलाई तत्काल निर्णय लिन अप्ठ्यारो पारिरहेको छ। “पहिरो नियन्त्रणका लागि हामीसँग विज्ञको परामर्श अनिवार्य छ । यो समस्या केवल प्राविधिक उपायबाट समाधान गर्न सकिन्छ,” घिमिरेले बताउनुभयो ।
दीर्घकालीन समाधानको चुनौती
सरकारले पहिरो नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्ने तयारी गरे पनि यसको कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ । विज्ञ टोलीको प्रतिवेदनले समस्या समाधानको दिशा देखाउन सक्ने अनुमान गरिएको छ । पहिरोको तीव्रता र फैलावटलाई देख्दा तत्काल नियन्त्रण गर्न नसके ठूलो मानवीय र भौतिक क्षति हुन सक्ने देखिन्छ ।
तिङलाबासी आफ्नो बस्तीको अस्तित्व जोगाउन राज्यको सक्रियता प्रतीक्षामा छन् । सोलुखुम्बुका अन्य ग्रामीण क्षेत्रहरुमा पनि पहिरोका घटना बारम्बार हुँदै आएका छन । तर, यो घटना विशेषगरी सुख्खा मौसममै सुरू भएकोले अझै गम्भीर बनेको छ ।
तिङ्लाको पहिरोले गाउँलाई नै संकटमा पार्दैछ । तत्काल कदम चालिएन भने यहाँ ठूलो क्षति हुनसक्छ । प्रशासनले नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने दबाब बढिरहेको छ । तिङ्लाबासी आफ्नो बस्तीको अस्तित्व जोगाउन राज्य र सम्बन्धित निकायबाट तुरुन्तै ठोस कदमको अपेक्षा गरिरहेका छन् ।