सोलुखुम्बु, मङ्सिर १६ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमबाट नेपाली कांग्रेस सोलुखुम्बुको १०० दिने राष्ट्रिय अभियानको औपचारिक शुभारम्भ गरिएको छ।
जिल्ला कार्यसमितिले खटाएका जिल्ला प्रतिनिधि चन्द्र आचार्यले पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिमा आज लोखिमबाट अभियानको शुभारम्भ गरेको हो ।
आयोजित कार्यक्रमले संगठन सुदृढीकरण र वडास्तरीय विकास निर्माणलाई तीव्रता दिने उद्देश्यका साथ अभियान सुरु गरेको पार्टीका प्रतिनिधि चन्द्र आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा कृयाशील सदस्यताको नवीकरण आजैदेखि थालनी गरिएको छ भने वडा समितिका रिक्त पदहरू तत्काल पूर्ति गर्ने निर्णय गरिएको छ।
साथै, वडास्तरका विकास निर्माणमा देखिएका ढिलासुस्ती र मनमानी प्रवृत्तिविरुद्ध प्रतिनिधिमण्डल पठाउने र त्यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
वडास्तरमा भावनात्मक एकता कायम गर्नका साथै पालिका स्तरमा हुने सबै अभियानमा सक्रिय सहभागिता जनाउने निर्णयलाई ऐतिहासिक मानिएको छ।
कार्यक्रममा संगठन विभागको तर्फबाट वडा समितिलाई लेटर प्याड, स्ट्याम्प र सदस्यता प्याड हस्तान्तरण गरिएको बताइएको छ ।
उक्त अवसरमा वडा सभापति दल बहादुर तामाङले अभियानलाई सफल बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
नेता पदम राई र युवा नेता गेल्जेन शेर्पाले अभियानले संगठन र विकास निर्माणमा देखिएका चुनौतीहरूको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
अभियानले वडास्तरीय गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जिल्लामा पहिलो पटक थुलुङ दुधकोशीबाट सुरु भएको अभियान सबै पालिकामा हुने नेपाली कांग्रेसले जनाएको छ ।
पार्टीको जिल्ला कार्यसमितिले जिल्लाको ८ वटै पालिकामा अभियान संचालनको जिम्मेवारीसहित पालिका प्रतिनिधि खटाइसकेको छ ।