सोलुखुम्बु, मंसिर १७ । नेपाली कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियान अन्तर्गत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ र ५ जुबुमा कार्यक्रम सम्पन्न भएको छ।
थुलुङ दुधकोशी–४ का पार्टी सभापति गुणराज उपाध्यायको सभापतित्व तथा पार्टी प्रतिनिधि चन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभियानलाई थप प्रभावकारी बनाउने विषयमा नेता कार्यकर्ताहरु बिच छलफल भएको छ।
वडा नम्बर ५ का पार्टी सभापति राम बहादुर बस्नेत, कांग्रेस नेता इन्द्र गुरुङ, कांग्रेस नेता तथा जननिर्वाचित वडाअध्यक्ष श्याम कुमार गुरुङ लगायतका नेताहरुले कार्यक्रममा आफ्नो धारणा राख्दै अभियानलाई गाउँ-गाउँसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
अभियानलाई केन्द्रको निर्देशनअनुसार स्थानीयस्तरमा व्यापक बनाउँदै टोलस्तरसम्म पुर्याउन नेता कार्यकर्ता परिचालित हुने निर्णय भएको वडा नम्बर ४ का पार्टी समितिका सचिव ज्ञान बहादुर भारतीले जानकारी दिनुभयो ।
कांग्रेस नेता ज्ञान बहादुर गुरुङले पार्टीलाई जनतासँग अझ नजिक पुर्याउन र संगठन सुदृढीकरणका लागि अभियानको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो। १०० दिने अभियानअन्तर्गत अन्य वडामा पनि यस्तै कार्यक्रम गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।