खोटाङ, फागुन ४ । खोटाङको हलेसी बजारमा लागेको आगो निभाउन सकस परेको छ । दमकल अभावमा हलेसी बजारमा भइरहेको आगलागी नियन्त्रणमा समस्या भएको हो ।
आज आइतबार साँझ सात बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोबाट पदमशेर र उहाँका छिमेकी ऐराख राईको घर जलेर नष्ट भइसकेको छ ।
हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा दमकल नभएकाले ट्र्याक्टरमार्फत पानी बोकेर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
‘दिक्तेल रूपाकोट मझुवागढीको दमकल पनि बिग्रेको रहेछ, ओखलढुंगाको दमकल चलाउने ड्राइभर पनि छैन रहेछ, उदायपुर कटारीको दमकल मगाइएको छ तर ४ घण्टाजति समय लाग्ने भयो,’ नगर प्रमुख राईले भन्नुभयो, ‘ट्याक्टरबाट पानी बोकेर नियन्त्रणको प्रयास भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले आगो नियन्त्रण बाहिर भएको बताउनुभएको छ ।‘धेरै ठूलो आगो छ भन्ने सुनिएको छ,’ विष्टले भन्नुभयो ।